
काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले सरकारको सय दिनको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
आज बसेको सङ्घीय संसद्, राष्ट्रियसभा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको संयुक्त बैठकमा बोल्दै सांसदहरूले सरकारको कामप्रति असन्तुटि व्यक्त गरेका हुन् ।
यस्तै सांसदहरूले तोकिएकै समयमा चुनाव हुन्छ कि हुँदैन ? भनेर सरकारलाई प्रश्नसमेत गरेका छन् । एमालेकी सांसद सुमित्रा बिसीले सरकारले संसद्को सेवा, सुविधा कटौती गर्ने निर्णय तत्काल फिर्ता लिनसमेत माग गर्नुभयो ।
नेपाली कांग्रेसकी सांसद विष्णुदेवी पुडासैनीले पालिकामा नागरिकको सेवाको कामलाई सहज बनाउने गरी कानून निर्माण गर्न सरकारलाई सचेत गराउनुभयो । उहाँले सार्वजनिक खरिदसम्बन्धी सरकारको आदेशले पालिकामा काम गर्न अप्ठयारो परेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरूले सरकारले अत्यावश्यक कानून निर्माणमा चासो नदिएको आरोपसमेत लगाएका छन् ।


