
झापा । बङ्गलादेशको राजधानी ढाकामा एक विद्यार्थी नेताको हत्यालाई लिएर दुई दिनसम्म चलेको हिंसात्मक प्रदर्शनपछि दशौं हजार व्यक्ति अन्त्येष्टि समारोहमा सहभागी भएका छन् ।
गएको वर्ष भएको प्रजातन्त्र समर्थक विद्रोहका एक प्रमुख व्यक्ति सरिफ उस्मान हादीको गएको बिहिवार ढाकाको मस्जिदबाट बाहिर निस्कने क्रममा मास्क लगाएका बन्दुकधारीले गोली हानेका थिए । उहाँको उपचारकाक्रममा ज्यान गएको थियो । हिजो अन्त्येष्टि समारोह गरिएको हो ।
अन्त्येष्टि प्रार्थना गरिएको संसद् भवन अगाडि शरिरमा क्यामरा जोडिएका प्रहरी तैनाथ थिए । हादीको शवलाई ढाका विश्वविद्यालयको केन्द्रीय मस्जिदमा गाडिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
अन्त्येष्टि कार्यक्रममा अन्तरिम नेता मुहम्मद युनुसले सम्बोधन गर्दै हादीको सबैको हृदयमा रहेको र जबसम्म देश रहन्छ तबसम्म सबै बङ्गलादेशीहरूको हृदयमा रहने बताउनुभयो । गएको वर्षको आन्दोलका एक प्रमुख नेता ३२ वर्षीय हादी आउँदो फेब्रुअरीमा हुने चुनावमा प्रतिस्पर्धा गर्ने तयारीमा समेत हुनुहुन्थ्यो ।


