
झापा । ‘सामुहिक उन्नति र आत्मसम्मान, शिक्षक हित साकोसको अभियान’ नारा दिएर झापामा सञ्चालित शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज शनिबार सम्पन्न १३औँ वार्षिक साधारण सभाले ९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित गर्दै बिर्तामोडमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष नारायणप्रसाद गौतमको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघ लि.का अध्यक्ष प्रेमकुमार काइरालाको प्रमुख आतिथ्यमा आयोजित वार्षिक साधारण सभाले कनकाईका हरिप्रसाद तिम्सिनाको अध्यक्षतामा नयाँ सञ्चालक समिति र अर्जुनधाराका तुलसीप्रसाद भण्डारीको सैयोजकत्वमा लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको हो । संस्थाको उपाध्यक्षमा अर्जुनधाराका गोविन्दप्रसाद न्यौपानेले जिम्मेवारी पाउनु भएको छ ।
सो संस्थाको सञ्चालक समिति सदस्यहरुमा अर्जुनधाराका देउमाया दाहाल, हल्दिबारीका घनश्याम उप्रेती, मेचीनगरका प्रेमप्रसाद निरौला, दमकका ध्रुवराज खड्का, कचनकवलका विपना पौडेल, गौरीगञ्जका सन्ध्या ताजपुरिया र शिवसताक्षीका बेनुप्रसाद कार्की चयन हुनुभएको छ ।
यस्तै लेखा सुपरीवेक्षण समितिका सदस्यहरुमा बिर्तामोडका भीमप्रसाद आचार्य र दमकका बन्दना भट्टराईले जिम्मेवारी पाउनु भएको छ । 
साधारण सभामा प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१÷८२ को असार मसान्तसम्म संस्थाको बैंक मौज्दात २ करोड २२ लाख ११ हजार ८७२ रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३४ दशमलव ५८ प्रतिशतले वृद्धि भएको हो।
उक्त अवधिसम्म संस्थाको कुल बचत रकम ३ करोड ८८ लाख ३५ हजार २९ रुपैयाँ पुगेको थियो भने सेयर पुँजी ८६ लाख ७३ हजार ४०० रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ।
अध्यक्ष गौतमले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा संस्थाबाट प्रवाह गरिएको कर्जा लगानी रकम ३ करोड ७ लाख ३१ हजार ५७७ रुपैयाँ रहेको छ भने सेयर सदस्य सङ्ख्या १ हजार ४२२ जना पुर्याइएको जनाइएको छ ।
कार्यक्रममा अध्यक्ष गौतमले संस्थाले हालसम्म हाँसिल गरेको आर्थिक प्रगति सन्तोषजनक रहेको बताउँदै आगामी दिनमा सदस्यहरूको हितलाई केन्द्रमा राखी सहकारीलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोइरालाले सहकारी संस्थालाई पारदर्शी, उत्तरदायी र सदस्य केन्द्रित बनाउँदै लैजानु पर्नेमा जोड दिनुभयो । उहाँले शिक्षकहरूको आर्थिक सशक्तीकरणमा सो सहकारी संस्थाले खेलेको भूमिका प्रशंसनीय रहेको पनि बताउनु भयो।
सो कार्यक्रममा सहकारी अभियन्ता हरिचरण बानियाँ लगायतले मन्तब्य राख्नु भएको थियो ।

साधारण सभाको अवसरमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कारोबारकर्ता, जेष्ठ सदस्य तथा उत्कृष्ट विद्यालय कर्मचारी सदस्यलाई सम्मान गरिएको थियो।
साथै, संस्थाका सदस्य रहेका विद्यालय कर्मचारीका छोराछोरीहरूमध्ये २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण तथा कक्षा १२ को परीक्षामा उत्कृष्ट अङ्क ल्याउने छात्र–छात्राहरूलाई समेत सम्मान गरिएको थियो ।
साधारण सभामा संस्थाका सेयर सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो ।


