
काठमाडौं । नवयुवा आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकममध्ये अहिलेसम्म ५ अर्ब १८ करोड रुपैयाँ दाबी रकम बीमितलाई भुक्तानी गरिएको छ ।
नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीमा परेका कूल तीन हजार ३०३ वटा बीमा दाबीको झन्डै २३ अर्ब ४५ करोड रुपैयाँ दाबी रकममध्ये अहिलेसम्ममा त्यो रकम भुक्तानी भइसकेको जनाएको हो । सम्पत्ति बीमातर्फ झन्डै तीन अर्ब ८२ करोड रुपैयाँ र गाडी बीमातर्फ झन्डै एक अर्ब २२ करोड रुपैयाँ भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।
इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ झन्डै सात करोड ५० लाख रुपैयाँ, परिवहन बीमातर्फ झन्डै एक करोड ५५ लाख रुपैयाँ र अन्य बीमातर्फ झन्डै पाँच करोड ५० लाख रुपैयाँ अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।
यस्तै अग्रिम भुक्तानीसहित झन्डै तीन अर्ब दुई करोड पुनःबीमा दाबी भुक्तानी गरिएको छ । भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनःबीमा कम्पनीले निर्जीवन बीमा कम्पनीलाई झन्डै तीन अर्ब दुई करोड अग्रिम भुक्तानीसमेत गरी पुनःबीमा दाबी भुक्तानी गरेको छ ।
नेपाल पुनःबीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीबाट परेका कूल दुई हजार ८६२ वटा पुनःबीमा दाबीको दाबी रकम झन्डै १६ अर्ब ६२ करोड रुपैयाँ रहेको अध्यावधिक तथ्याङ्क छ ।


