
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट आउने र त्यहाँबाट जाने सबै प्रतिबन्धित तेल ट्यांकरमाथि पूर्ण रुपमा नाकाबन्दी लगाउन आदेश दिनुभएको छ ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै भेनेजुएलामाथि आतंकवाद, लागूऔषध तस्करी र मानव तस्करीमा संलग्न भएको आरोप लगाउँदै तेल ट्यांकरमाथि पूर्ण नाकाबन्दीको आदेश दिनुभएको हो ।
यसअघि एक हप्ता अगाडि अमेरिकाले भेनेजुएलाको तट नजिकै एउटा तेल ट्यांकर नियन्त्रणमा लिएको थियो । त्यो कदमलाई भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले ‘समुद्री लुटपाट’ को संज्ञा दिनुभएको थियो ।
ट्रम्पको नयाँ आदेशपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो उतार–चढाव आउने अनुमान गरिएको बीबीसीले जनाएको छ । अमेरिकाले क्यारेबियन क्षेत्रमा आफ्नो वायुसेना र नौसेना तैनाथ गरेको छ ।
यसमा परमाणु ऊर्जाबाट सञ्चालन हुने पनडुब्बी, जासुसी विमान र झन्डै १५ हजार सैनिक समावेश छन् । अमेरिकाले यो क्षेत्रमा रहेका केही डुंगामाथि आक्रमण पनि गरेको छ, जसमा अहिलेसम्म ८० भन्दा धेरै व्यक्तिको ज्यान गइसकेको खबरमा उल्लेख छ ।


