२०८२ पौष १ मङ्गलवार , ०६:०८:३९ बजे

Sajhamanch
'

डेढ महिनादेखि प्रहरीमा ७ एसएसपी खाली

मङ्गलवार, पौष १, २०८२

काठमाडौं । नेपालमा ७ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रिक्त भएको डेढ महिना बित्दा समेत बढुवा हुन सकेको छैन ।

गत ९ कात्तिकका पाँच एसएसपीहरु भुपेन्द्र खत्री, दोस्रोमा सानुराम भट्टराई, तेस्रोमा ओम अधिकारी, चौथोमा शेखर खनाल र पाँचौंमा अभिनारायण काफ्ले डीआईजी बढुवामा सिफारिस हुनुभएको थियो । सिफारिस भएको एक सातापछि उहाँहरूले डीआईजीको दर्ज्यानी चिह्न प्राप्त गर्नुभयो ।

त्यसपछि १ मंसिरमा अर्का एसएसपी विश्व अधिकारी पनि डीआईजी बढुवामा सिफारिस हुनुभयो । योसँगै रिक्त एसएसपीको संख्या ६ पुग्यो । यही बीचमा एसएसपी प्रकाश रानाभाटले राजीनामा दिनुभयो । उहाँको राजीनामा पनि स्वीकृत भयो ।

यो सँगै नेपाल प्रहरीमा रिक्त एसएसपीको संख्या ७ पुग्यो । रिक्त भएको डेढ महिना बित्दा पनि अहिलेसम्म एसएसपीमा बढुवा हुन सकेको छैन । अहिलेसम्म बढुवा हुन नसक्नुको कारण भने प्राविधिकतर्फका दुई एसएसपीको दरबन्दी जनपदतर्फ मिलान गरेर बढुवा गर्ने तयारी रहेको बुझिएको छ । यसका लागि गर्नेपर्ने संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएन्डएम) गर्नका लागि मन्त्री परिषद्ले समेत स्वीकृत दिएको छ । अहिले यसैमा काम भइरहेकाले केही ढिलाइ भएको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो ।

यो सँगै दरबन्दी मिलान गरेर मन्त्रिपरिषद्मा पठाउने बाटो समेत प्रहरी हेडक्वाटरले पाएको छ । दरबन्दी मिलान भएपछि बढुवा गर्नेगरी तयारी अघि बढाइएको प्रहरी प्रधान कार्यालयको मानव स्रोत तथा प्रशासन विभागले जनाएको छ । यसअघि सशस्त्र प्रहरीले समेत दबरन्दी मिलान गर्दै तीन डीआईजी, एक एसएसपीको दरबन्दी थप गरेको थियो ।

रिक्त एसएसपी बढुवाका लागि करिब दुई दर्जन एसएसपीहरू प्रतिस्पर्धामा छन् । बढुवाका लागि भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेन्द्रप्रसाद काफ्ले, अमरेन्द्रबहादुर सिंह, श्याम सिंह चौधरी, नकुल पोख्रेल, पदमबहादुर बिष्ट हुनुहन्छ।

त्यस्तै वासुदेव खतिवडा, प्रजित केसी, योगेन्द्र सिंह थापा, महेन्द्र कुमार श्रेष्ठ, दिलीप घिमिरे, वीरेन्द्रबहादुर शाही, राजकुमार सिलवाल, सुवास चन्द्र बोहरा, जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुन प्रसाल तिमिल्सिना र रमेश पण्डित हुनुहुन्छ।