
झापा । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने जनाएको छ ।
शाखाका प्रमुख दीपककुमार राजवंशीका अनुसार शाखामा दैनिक करिब २०० मेट्रिक टन मल प्राप्त भइरहेको छ भने त्यति नै परिमाणमा बिक्री वितरणसमेत भइरहेको छ ।
उहाँका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म शाखाले १३ हजार ४०७ दशमलव २७५ मेट्रिक टन रासायनिक मल बिक्री वितरण गरेको छ ।
‘चालु आवमा १२ हजार ९५३ मेट्रिक टन मल प्राप्त भएको छ भने गत आवको समेत कार्यालयमा ८७३ मेट्रिक टन मल मौज्दात छ’, उहाँले भन्नुभयो ।
शाखा कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पाँच महिनामा युरिया सात हजार ७५३ दशमलव २० मेट्रिक टन, डिएपी पाँच हजार ३४९ दशमलव ६५ मेट्रिक टन, पोटास २७३ दशमलव ३५ मेट्रिक टन र कृषि चुन ३१ दशमलव ०७५ मेट्रिक टन बिक्री वितरण गरिएको छ ।
हाल शाखामा युरिया एक हजार १०० मेट्रिक टन, डिएपी छ हजार मेट्रिक टन र पोटास पाँच सय मेट्रिक टन मौज्दात रहेको शाखा प्रमुख राजवंशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार युरिया प्रतिबोरा ८०८ठ रुपैयाँ ५० पैसा, डिएपी प्रतिबोरा दुई हजार २५८ रुपैयाँ ५० पैसा, पोटास प्रतिबोरा एक हजार ६५८ रुपैयाँ ५० पैसा र कृषि चुन प्रतिबोरा २१५ रुपैयाँमा बिक्री भइरहेको छ ।


