
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को चार महिनामा पौने ७ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार चार महिना अर्थात् साउनदेखि कात्तिकसम्म ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गएको वर्षको यही अवधिको तुलनामा ३१ दशमलव ४ प्रतिशतले धेरै हो ।
राष्ट्र बैंकको तथ्याङ्क अनुसार कात्तिक महिनामै १ खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गएको वर्षको यही महिनामा १ खर्ब १४ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
यस्तै चार महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या घटेको छ । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ४५ हजार ९७३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख २७ हजार ८३७ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा १ लाख ४७ हजार ४७८ जनाले अन्तिम श्रम स्वीकृति र ९४ हजार १०५ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।
यस्तै विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । गएको असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति १४ दशमलव १ दशमलव ३ प्रतिशतले बढेको हो ।
यस्तै चार महिनासम्म चालू खाता २ खर्ब ७९ अर्ब ६५ करोड रुपैयाँले बचतमा रहेको छ । शोधनान्तर स्थिति ३ खर्ब १८ अर्ब ४० करोड रुपैयाँले बचतमा रहेको छ ।
चालू आर्थिक वर्षको चार महिनामा कुल वस्तु निर्यात ७७ दशमलव ५ प्रतिशतले बढेर ९३ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । चार महिनामा कुल वस्तु आयात १८ दशमलव ७ प्रतिशतले बढेर ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । योसँगै कुल वस्तु व्यापार घाटा १२ प्रतिशतले बढेर ५ खर्ब १५ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ ।
यस्तै गएको कात्तिक महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १ दशमलव ११ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यही अवधिमा उपभोक्ता मुद्रास्फीति ५ दशमलव ६० प्रतिशत रहेको थियो ।


