
काठमाडौं । नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशन अन्तर्गत अहिले उम्मेदवारको दरखास्त फाराम दर्ता गर्ने क्रम चलिरहेको छ ।
यसअघि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय रहेकोमा केन्द्रीय निर्वाचन आयोगले चुनाव कार्यक्रम संशोधन गर्दै उम्मेदवारी दर्ता गर्ने समय दुई घण्टा थप गरेको हो । संशोधित कार्यक्रम अनुसार साढे ३ बजेसम्म उम्मेदवारको दरखास्त फाराम दर्ता हुनेछ ।
यस्तै ४ बजे प्रारम्भिक नामावली प्रकाशन, साढे ४ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने, ५ बजेसम्म छानबिन गरी निर्णय, ६ बजेसम्म उम्मेदवारको नाम फिर्ता र साढे ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । यस्तै मतदान भोलि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ ।
केन्द्रीय निर्वाचन आयोगले एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार रुपैयाँ तोकेको छ । यस्तै पदाधिकारी र केन्द्रीय आयोगका अध्यक्षका लागि १० हजार तथा केन्द्रीय सदस्य र आयोगका पदाधिकारीका लागि ५ हजार रुपैयाँ शुल्क तोकिएको छ ।
नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल प्यानलसहित प्रतिस्पर्धामा गर्दै हुनुहुन्छ । १९ जना पदाधिकारी रहनेमा सबै पदमा चुनाव हुने झन्डै पक्का भएको छ ।


