
जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नु भएको छ।
उहाँले जनमतबाहेक सातदलीय गठबन्धनबाट मन्त्रालय तोकेर एक/एक जना मन्त्री नियुक्त गर्ने तयारी गर्नु भएको हो ।
आज बसेको सातदलीय गठबन्धनको बैठकले तत्काल सात दलभित्रबाट प्रतिनिधित्व हुने गरी मन्त्रालयसहित एकएकजना मन्त्री नियुक्त गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो ।
ती नेताका अनुसार आगामी पुस ४ गते मुख्यमन्त्री यादवले विश्वासको मत लिने निर्णय समेत भएको छ ।
गत मङ्सिर १९ गते ६ दलको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । उहाँले मङ्सिर २१ गते प्रदेश प्रमुखबाट पद तथा गोपनियताको सपथ लिनु भएको थियो। उहाँले तीन दलबाट तीनजना मन्त्री समेत नियुक्त गर्नु भएको थियो।
जनमतबाट संसदीय दलका नेता महेशप्रसाद यादवलाई अर्थमन्त्री बन्नु भएको थियो ।
काङ्ग्रेसबाट जङ्गीलाल राय यादव र नेकपा एकीकृत समाजवादीबाट कनिश पटेल बिना विभागीय मन्त्री नियुक्त भएका थिए । सात दलीय गठबन्धनमा भागबण्डा नमिल्दा दुईजना मन्त्री अहिलेसम्म बिना विभागीय छन् ।
आज दुवै विनाविभागीय मन्त्रीसहित अन्य दलबाट समेत प्रतिनिधित्व हुने गरी मन्त्रिपरिषद् विस्तार गर्ने तयारी मुख्यमन्त्री यादवले गर्नु भएको हो ।


