
काठमाडौं । प्रतिनिधिसभाको चुनाव नजिकिंदै गर्दा निर्वाचन आयोगले आवश्यक तयारी गरिरहेको छ ।
आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको दल दर्ताको प्रक्रिया सकाइसकेको छ । सरकारले पनि चुनावका लागि आवश्यक तयारी तथा सहजीकरण गरिसकेको छ । राजनीतिक दलहरूले पनि चुनावी गतिविधि अगाडि बढाएका छन् ।
मुख्य राजनीतिक दलदेखि नयाँ राजनीतिक दलले पनि देशव्यापी रूपमा चुनाव केन्द्रित अभियान शुरू गरिसकेका छन् । नेपाली कांग्रेसले देशव्यापी रूपमा उम्मेदवार छनोट गरी केन्द्रमा पठाउन थालिसकेको छ ।
कांग्रेसले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको उम्मेदवार छनोट गरिरहेको छ । प्रतिनिधिसभा सदस्यको उम्मेदवारसँगै राष्ट्रियसभाको उम्मेदवारसमेत कांग्रेसले छनोट गरिरहेको छ । उम्मेदवार छनोटमा अन्य राजनीतिक दलभन्दा कांग्रेस अगाडि देखिएको छ ।
नेकपा (एमाले) को हिजोदेखि ११औँ महाधिवेशन शुरू भएको छ । महाधिवेशनको उद्घाटनसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दबाब र प्रतिशोधको छायाँबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट भाग्छ ? भन्ने प्रश्न गर्नुभएको छ । उहाँले सरकारले निष्पक्ष र स्वतन्त्र चुनाव हुने वातावरण बनाउनुपर्ने पनि बताउनुभयो । अध्यक्ष ओलीले चुनावका लागि आवश्यक वातावरण बनाउन र राजनीतिक दलका गतिविधिलाई प्रोत्साहित गर्न आग्रह गर्नुभयो । एमालेले निर्वाचनका लागि आयोगले तय गरेको समयसीमाभित्रै दल दर्तालगायतका गतिविधि सम्पन्न गरिसकेको छ ।
यस्तै, विभिन्न कम्युनिष्ट पार्टी एकीकृत भएर बनेको नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० ले सन्देशसभाका नाममा देशव्यापी रूपमा चुनाव केन्द्रित गतिविधिलाई तीव्र पारेको छ । दलले हिजो सुर्खेतको वीरेन्द्रनगरमा जनसभाको आयोजना गरेको थियो । धनगढी, दाङ, पोखरा, विराटनगर र जनकपुरमा सन्देशसभा गरिसकेको नेपाली कम्युनिष्ट पार्टीले आउँदो पुस ५ गते काठमाण्डौमा सन्देशसभा आयोजना गर्दैछ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावका लागि वाचापत्र तयार पार्नेदेखि उम्मेदवार छनोटको प्रक्रिया अगाडि बढाइसकेको छ । समानुपातिकतर्फको उम्मेदवारको आवेदन गरेको रास्वापाले भेला सभामार्फत चुनाव केन्द्रित गतिविधि गरिरहेको छ ।
निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाइसकेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाति, खस आर्य, मधेशी, थारू, मुस्लिम समूहका लागि प्रतिशत निर्धारण गर्न लागिएको हो ।
यस्तै, समानुपातिक प्रणालीतर्फ कूल १०० राजनीतिक दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले अस्ति शुक्रवार ती राजनीतिक दल दर्ता भएको र निर्वाचन चिह्नसमेत उपलब्ध गराइसकेको छ ।
यही मङ्सिर २१, २२ र २३ गते तीन दिनको समयभित्र समानुपातिकतर्फको चुनावमा भाग लिनका लागि आवेदन दिएका राजनीतिक दलमध्ये अन्तिम रूपमा १०० दल कायम भएका छन् ।


