
झापा । अमेरिकामा यस वर्षको मौसमी फ्लूबाट झन्डै ३० लाख मानिस प्रभावित भएका छन् । पछिल्लो तथ्याङ्कका अनुसार यस वर्ष अहिलेसम्म अमेरिकामा २९ लाखभन्दा धेरै मानिसहरू फ्लूबाट बिरामी परेका पाइएको छ ।
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले आफ्नो साप्ताहिक फ्लू तथ्याङ्कको पछिल्लो चरण सार्वजनिक गरेअनुसार २९ लाख मानिसहरू भाइरसबाट बिरामी परेको, तीस हजार जना अस्पताल भर्ना भएका तथा एक हजार दुई सय जनाको ज्यान गएको उल्लेख छ ।
केन्द्रका अनुसार मौसमी इन्फ्लूएन्जा देशका धेरैजसो भागमा बढ्दो क्रममा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो सिजनमा इन्फ्लूएन्जा ए (एच ३–एन २) प्रमुख भाइरसको रूपमा फैलिरहेको हो ।
फ्लूविरुद्धको खोपको १२ करोड ७० लाखभन्दा बढी डोज वितरण गरिएको छ । सीडीसीले ६ महिना र त्योभन्दा माथिका सबैलाई वार्षिक फ्लू खोप लगाउनु पर्ने बताएको छ ।
त्यसैगरी, केन्द्रका अनुसार, फ्लू उपचारका लागि केही औषधिहरू उपलब्ध छन् । उपलब्ध यस्ता औषधिहरू समयमै शुरू गर्दा सबैभन्दा प्रभावकारी हुन्छन् र विशेषगरी जसलाई गम्भीर फ्लू–सम्बन्धित जटिलता हुने जोखिम बढी हुन्छ ती व्यक्तिहरूका लागि महत्त्वपूर्ण रहेको छ ।


