
काठमाडौं । डिजिटल प्रयोगले बालबालिकाले राम्रा कुरा पनि सिकिरहेका छन् । तर यसको नराम्रो पक्ष पनि उस्तै छ । यसको प्रयोग कसरी गर्ने भन्ने कुरा महत्त्वपूर्ण छ । यो प्रयोगकर्तामै फरक पर्ने कुरा पनि हो ।
डिजिटलको सही प्रयोग गर्न नजान्दा वा दुरुपयोग हुँदा हिंसा पनि निम्त्याइरहेको छ । अहिले धेरैजसो बालबालिका स्क्याम (अनलाइनबाट ठगी गर्ने, झुक्याउने धन्दा) मा फसिरहेका छन् । नेपालमा अहिले पैसा कमाउने माध्यमको रुपमा अनलाइन स्क्यामिङ प्रयोग हुँदै आएको छ । गैरकानुनीरुपमा सञ्चालित अनलाइन स्क्यामिङ फेक आइडीबाट हुने गरेको पाइएको छ ।
स्क्यामरहरूले विभिन्न चालबाजी, झुठा अफर, नक्कली वेबसाइट, सामाजिक सञ्जाल वा ईमेल प्रयोग गरी मानिसहरूलाई भ्रममा पारेर उनीहरूको व्यक्तिगत जानकारी, पैसा वा डिजिटल सम्पत्तिमा पहुँच पुर्याउने कोशिस गरिरहेका हुन्छन् । अनलाइनमार्फत उपहार परेको छ वा केही पैसा पठाइदिनु, सामान आएको छ भनेर प्रलोभनमा पारेर बालबालिकाहरुलाई स्क्याममा फसाउने गरेको पाइन्छ ।
पब्जी लगायतका भिडियो गेमको लतले पनि बालबालिकाहरुको दैनिक जीवनमा असर पुगिरहेको छ । बालबालिकालाई लक्षित गरेर गलत सूचना संप्रेषण पनि भइरहेका छन् । साइबर बुलिङ पनि धेरै भइरहेको छ । प्रयोग गर्न नजानेर या प्रयोग गरिरहँदा कसरी सुरक्षित रहने भन्नेबारेमा जानकारी नभएर पनि यस्ता डिजिटल हिंसा भइरहेका छन् । साइबर बुलिङमध्ये अनलाइनबाट हुने भनेको घृणास्पद अभिव्यक्ति धेरै हुने गरेको छ ।
सामाजिक सञ्जाल कुन उमेरकालाई प्रयोग गर्न दिने भन्ने स्पष्ट नभएर पनि हो । अभिभावक र बिद्यालयबाट सुरक्षित रहनेबारे जानकारी नपाउँदा पनि डिजिटल हिंसा अत्यधिक हुने गरेको छ । चिनेका व्यक्तिबाट शारीरिक हिंसा भइरहेका छन् भने नचिनेका व्यक्तिबाट धेरैजसो डिजिटल हिंसा पनि भइरहेका छन् ।
पछिल्लो समय एआईको प्रयोग बढ्दा सिकाईसँगै समस्या पनि निम्त्याइरहेको छ । बालबालिकाले सिक्न वा सिप विकासका लागि एआई प्रयोग गरिरहेका छन् कि रिस पोख्ने भाँडोका रुपमा प्रयोग गर्दैछन् त भनेर हेर्न जरुरी छ । कतिपयले आफना पीडा रिस लगायतका भावना पोख्नका लागि इन्टरनेटको प्रयोग गरिरहेका छन् ।
सामाजिक सञ्जालमा फोटो वा भिडियो धेरै राख्ने गरिन्छ । एआईले त्यो फोटोलाई १५ वा २० वर्षपछिको अवस्थामा देखाइदिने मात्र हैन, त्यसको गलत प्रयोग पनि भइरहेको हुन सक्छ । त्यसैले बालबालिकाको तस्बिर वा भिडियोसकेसम्म सामाजिक सञ्जालमा नराखेकै राम्रो । जसबारेमा हामी सतर्क भएनौं भने यसले विभिन्न जटिलता निम्तन सक्छ ।
बालबालिकामा पछिल्लो समयमा धैर्य गरेर बस्न सक्ने क्षमता पनि घट्दो छ । उनीहरु कुनै पनि ठाउँमा वा एउटै कुरामा धेरै समय अडिग भएर बस्न सक्दैन । बालबालिकालाई तनाव पनि अत्यधिक भइरहेको हुनसक्छ । यो भनेको मनोसामाजिक समस्या पनि हुनसक्छ । उनीहरुलाई इन्टरनेटको सुरक्षित प्रयोग बारेमा सूचना दिनु जरुरी छ ।
अहिले बालबालिकाले दुःखका कुरा भन्दा पनि सुखका राम्रा कुरा सुन्न हेर्न रुचाउँछन् । सामाजिक सञ्जालमा पनि धेरैजसो व्यक्तिले आफ्ना दुःखका कुराभन्दा सुखका कुरा बढी देखाउँछन् । त्यसपछि बालबालिकाले सामाजिक सञ्जालका व्यक्तिसँग आफूलाई तुलना गर्न थाल्छ । तुलना गर्दा आफूमा समस्या र दुःख देख्छ । अरु खुशी देखेर आफूलाई दुःखी महसुस गर्न थाल्छ ।
धेरैजसो बालबालिकाले आफनो अभिभावकको मोबाइल प्रयोग गरिरहेका हुन्छन् । त्यो बेला धेरैले गेम पनि खेलिरहेका हुन्छन् । गेम खेलिरहँदा त्यहाँ कसैले पैसा मागिरहेको हुन्छ । र बैंकको कोड नम्बर घुमाउरो पाराले मागिरहेको हुन सक्छ र बच्चाले अभिभावकको कोड नम्बर पठाउँछ । यसबारेमा बालबालिकाले थाहा पाउँदैनन् र कतिजनाको मोबाइल बैंकबाट खाताको रकम खाली भइसक्छ । यो डिजिटल माध्यमबाट हुने ठगी हो ।
डिजिटल हिंसा भोगिरहेका घटना हाम्रो वरपर नै छन् । एकजना किशोरी जो आफ्नो केटा साथीसँगको सम्बन्ध तोडिएकोमा दुःखी छिन् । उनलाई एकातिर सम्बन्ध तोडिएकोमा दुःख लागेको छ भने अर्कोतिर केटा साथीले ब्ल्याकमेल गरिरहेकोमा मानसिक तनाव बढेको छ । ऊसँगको सम्बन्धमा रहँदा खिचेका फोटो र भिडियोले आज उनलाई पीडा बढाइरहेको छ ।
अब कसलाई भन्ने त ? परिवारलाई सुनाउँदा गाली गर्ने डर । साथीहरुलाई सुनाउँदा समाधानको सट्टा झन खबर फैलने डर । अनि कसलाई सुनाउने त ? यस्ता घटना लुकाएर राख्ने धेरै छन् । यसको निकास खोज्नु पर्छ । लुकाउने हैन । यसले झन हिंसा गर्नेको मनोबल बढ्छ । यसबारे साइबर ब्युरो वा नजिकको प्रहरी कार्यालयको महिला शाखामा गएर उजुरी दिनुपर्छ ।
जिम्मेवारी कसको ?
बालबालिकामा हुने हिंसा न्यूनिकरणका लागि अभिभावक र बिद्यालयको जिम्मेवारी सबैभन्दा धेरै हुन्छ । अभिभावकले बोली र शब्द मात्र हैन, शारीरिक हाउभाउ पनि महत्त्वपूर्ण हुन्छ । समाजको डर र मानप्रतिष्ठाका लागि गुपचुप राख्ने अभिभावक धेरै छन् । यसले झन् हिंसा बढाइरहेको हुन्छ ।
अभिभावकले साना बालबालिकालाई सकेसम्म मोबाइल दिनु नै हुँदैन । ३ वर्षभन्दा कम उमेरकालाई मोबाइल प्रयोग गर्न दिनु हुँदैन भनेर विभिन्न अध्ययनहरुले देखाएका छन् । ३ वर्षभन्दा माथिकालाई दैनिक एक घण्टासम्म मोबाइल दिन सकिन्छ भने पनि सकेसम्म मोबाइल दिनुभन्दा यसको विकल्पहरु खोजेर त्यसमा भुलाउनु पर्छ । फेरि उनीहरुलाई कस्तो कन्टेन्ट वा विषयवस्तु हेर्न दिने भन्ने महत्त्वपूर्ण हुन्छ ।
अर्कोकुरा अहिले बालबालिकाले जे माग्छन् तुरुन्त उपलब्ध गराइदिने गर्छौं । यसबाट उनीहरुलाई माग्ने बित्तिकै खोजेको चाहेको सामान तुरुन्त नपाउँदा धैर्यताको कमी हुँदै गएको छ । उनीहरुले मागेको र चाहेको सामान पाउन कुर्नुपर्छ, केही समय त्याग गरेर पाउँदा त्यो उपलब्ध हुनुको मज्जा बेग्लै भएको महसुस गराउन सकिएन भने यसले उनीहरुमा धैर्यताको कमीसँगै रीस र आवेश बढ्न सक्छ । यसले झन हिंसा बढाउन मद्दत गरिरहेको हुन्छ ।
यस्तै विद्यालयको भूमिका पनि महत्त्वपूर्ण हुन्छ । हरेक विद्यालयमा एक नर्सको व्यवस्था त छँदैछ, योसँगै मनोसामाजिक मनोविमर्शकर्ता पनि जरुरी छ । बालबालिकामा विभिन्न हिंसा हुन सक्छ वा उ तनावमा पनि हुन सक्छ । उसका पीडा सुन्ने र समाधानको प्रयासका लागि पहल गर्न पनि विद्यालयमा मनोपरामर्शकर्ता आवश्यक हुन्छ । साथै सामाजिक सञ्जालले निम्त्याउने जटिलता, समस्या र यसबाट बच्ने उपाय बारेमा पनि सूचना दिनु जरुरी छ ।
यस्तै हरेक पालिकाले इन्टरनेटको सही सदुपयोग कसरी गर्ने भनेर अभिभावकलाई नै पहिला शिक्षा दिनु जरुरी छ । हरेक पालिकामा विभिन्न समूहहरु पनि छन् । पालिकाले त्यो समूहलाई इन्टरनेटको सही प्रयोग र यसबाट हुनसक्ने हिंसाबारे जनचेतना जगाउने नै हो । साथै विद्यालयमा पनि यसबारे सचेतना जगाउन आवश्यक छ । विद्यालयका नर्सहरुलाई यसबारेमा जानकारी दिएर उनीहरुमार्फत विद्यार्थीसम्म सूचना पुर्याउन सकिन्छ ।
सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा
सामाजिक सञ्जालमा थुप्रै विषय हुन्छन्, जुन बालबालिकाका लागि उपयुक्त नहुन सक्छ । त्यस्ता विषय नहेर्ने ।
तपाइँको शरीरलाई लिएर कसैले केही भनिरहेको छ वा मूल्यांकन गरिरहेको छ भने त्यसलाई वेवास्ता गर्ने । उसको कुराले आफ्नो मनलाई दुःखी नबनाउने । एकदमै धेरै नै दुःख दिने अलमलाउने गरेको छ भने तत्काल आफ्नो कुरा बुझ्ने अभिभावक वा शिक्षकलाई भन्ने गर्नुपर्छ ।
सामाजिक सञ्जालमा कसैले सामान पठाइदिन्छु वा गिफ्ट पाउनुभएको छ वा रोजगारी दिलाउँछु वा अन्य विभिन्न तरीकाबाट प्रलोभन देखाएर पैसा माग्ने गरेको त भने त्यसमा सतर्क हुनुपर्छ ।
सबैभन्दा महत्त्वपूर्ण कुरा सामाजिक सञ्जाल प्रयोग गरिरहँदा तपाईंले आफूलाई सकारात्मक बाटोतर्फ डोहोर्याइरहनुभएको छ कि उल्टै आफूलाई कमजोर बनाएर नकारात्मकतर्फ धकेल्दै हुनुहुन्छ भन्ने कुरा हेर्न जरुरी छ । सामाजिक सञ्जालले तपाईंको पढाई, सम्बन्ध, मनोसामाजिक अवस्था र जीवनलाई कतातर्फ लैजाँदैछ भन्ने विषय महत्त्वपूर्ण हुन्छ ।


