२०८२ मंसिर २६ शुक्रवार , ०७:०३:१२ बजे

Sajhamanch
'

अन्तरनिर्वाचन क्षेत्रबाट पनि मतदान गर्ने व्यवस्था गर्दैछ सरकार

शुक्रवार, मंसिर २६, २०८२

काठमाडौं । सरकारले अन्तरनिर्वाचन क्षेत्रमा बस्ने नागरिकहरूका लागि मतदानको व्यवस्था गर्न लागेको छ । त्यसका लागि कानुन संशोधनको काम अगाडि बढेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका सूचना अधिकारी कुलबहादुर जिसीका अनुसार यसबारे विज्ञहरूसँग सल्लाह लिने काम भइरहेको छ । सरकारले विदेशमा रहेका नेपाली तथा नेपालमै अन्तरनिर्वाचन क्षेत्रमा रहेका नेपालीलाई कसरी मतदानमा सहभागी गराउने भन्नेबारे कानुन बनाउने तयारी गरेको उहाँको भनाइ छ ।

नेपालमा निर्वाचन क्षेत्रभन्दा बाहिर अर्थात् अन्तरनिर्वाचन क्षेत्रमा बसोबास रही मतदानका लागि आफ्नो सम्बन्धित क्षेत्रमा जान नसक्ने अस्थायी मतदातासूचीमा सूचीकृत नेपाली नागरिकलाई मतदानमा सहभागी गराउन लागिएको हो ।

मतदानका लागि हरेक पालिकामा कम्तीमा एउटा विशिष्टीकृत मतदान केन्द्र निर्धारण गरी मतदाताहरूको भौतिक उपस्थितिमै मतदान गराउने व्यवस्था गर्नुपर्ने सुझाव सरकारको थिङ्कट्याङ्क संस्था नीति अनुसन्धान प्रतिष्ठानले सुझाव दिएको छ । सोही अनुसार कामलाई अगाडि बढाएको आयोगले जनाएको छ ।

संघीय राजधानीसहित अस्थायी मतदाता सङ्ख्या धेरै हुनसक्ने सहरहरूमा थप उपकेन्द्र तथा बुथहरूको व्यवस्था गर्न पनि सकिने प्रतिष्ठानको सुझाव छ । प्रतिष्ठानले सरकारलाई बुझाएको सुझावमा भनिएको छ, ‘यस्तो मतदान केन्द्रमा अस्थायी मतदाताहरूका लागि पनि समानुपातिक र प्रत्यक्ष दुवै प्रणालीको निर्वाचनमा मतदानको व्यवस्था गरी फरक–फरक मतपेटिकामा मतपत्र सुरक्षित गरेर प्रत्यक्षतर्फ निजको मतदाताको स्थायी निर्वाचन क्षेत्रको उम्मेदवारलाई तथा समानुपातिकतर्फ निजले रोजेको राजनीतिक दललाई मतदान गर्ने अवसर उपलब्ध गराउनु पर्दछ ।’

यसरी मतदान गर्नेहरूको हकमा मतदान सम्पन्न भएको सम्बन्धित जिल्लामा अलग्गै मतगणना गरेर त्यसको मतपरिणाममात्र आयोगमार्फत् सम्बन्धित जिल्लाको निर्वाचन क्षेत्रमा पठाउने नीतिगत व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ ।

यस प्रक्रियामा व्यवस्थापकीय समस्या बढ्ने र निर्वाचनको परिणाम घोषणामा केही बढी समय लाग्ने समस्या हुने भएता पनि देशभित्रै तर अन्तरनिर्वाचन क्षेत्रमा रहेका नेपाली नागरिकलाई मतदानको अवसर उपलब्ध गराउन यो सबैभन्दा उत्तम र व्यावहारिक विकल्प रहेको बताइएको छ ।

व्यवस्थापकीय सहजताका लागि यस्तो मतदान केन्द्र हरेक निर्वाचन क्षेत्रमा एकरएकवटा वा हरेक जिल्लामा एउटा राखेर पनि मतदान गराउन सकिन्छ । यद्यपि, निर्वाचनको दिन सार्वजनिक यातायात सञ्चालन नहुने हुँदा दोस्रो वा तेस्रो विकल्प अपनाउँदा यातायात असुविधाका कारण मतदाताहरू प्रभावित भई निर्वाचन सहभागिता न्यून हुने खतरा भने कायमै रहन्छ ।

मतदातासूचीमा नाम कसरी लेखाउने ?

अन्तरनिर्वाचन क्षेत्रमा मतदान गर्नका लागि अस्थायी मतदाता सूचीमा सूचीकृत गर्नुपर्ने व्यवस्था गर्न पनि प्रतिष्ठानले सुझाव दिएको छ । स्थायी मतदाता नामावलीमा मतदाता सूचीकृत भइसकेपछि अन्तरनिर्वाचन क्षेत्रमा रहेका नेपाली नागरिकलाई मतदानको अवसर प्रदान गर्ने अस्थायी मतदातासूचीमा सूचीकृत अर्थात् स्थानान्तर हुनु पर्दछ ।

अस्थायी मतदाता नामावलीमा सूचीकृत हुन कम्तीमा एक महिनाको समय दिनुपर्ने भन्दै प्रतिष्ठानले यस्तो दर्ता प्रक्रियालाई सरल, सहज र पहुँचयोग्य बनाउन आयोगको वेबसाइटमा आधारित अनलाइन प्रणालीलाई अवलम्बन गर्नु उपयुक्त हुने सुझाव दिएको छ ।

यस प्रक्रियामा सहभागी हुनका लागि मतदाताको पहिचान, प्रमाणीकरण र गोपनीयताको संरक्षण गर्न सेलफोन वा इमेल ओटीपी, अनुहारको अध्ययन, जन्ममिति, नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा मतदाता परिचयपत्र नम्बर र सोही नम्बर प्रयोग भएको प्रमाणपत्र वा परिचयपत्रको स्क्यान कपी अपलोड गर्ने गरी पहिचान प्रमाणीकरण गर्नुपर्ने भनिएको छ ।

सम्बन्धित खबर