
झापा । रक्सी खाएर साइकल चलाएको पाइएपछि जापानी प्रहरीले झन्डै ९०० साइकल चालकहरूको कार चालक अनुमतिपत्र निलम्बन गरेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
रक्सी खाएर साइकल चलाउनेहरूले कार चलाउँदा ठूलो खतरा निम्त्याउने सम्भावना रहेको अधिकारीहरूले बताएका छन् । गएको जनवरीदेखि सेप्टेम्बरसम्म निलम्बित कार ड्राइभिङ लाइसेन्सको सङ्ख्या गएको वर्षको तुलनामा तीव्र गतिमा बढेको छ ।
जापानले नयाँ ट्राफिक कानून लागू गरेको छ जसले साइकल चालकहरूलाई कडा जरिवाना तोकेको छ । गएको वर्ष नोभेम्बरमा लागू भएको नयाँ नियम अन्तर्गत जाँड–रक्सी खाएर साइकल चलाउनेहरूलाई तीन वर्षसम्मको जेल सजाय वा अधिकतम ३ हजार २०० अमेरिकी डलर जरिवाना हुन सक्छ ।
रक्सी खाने साइकल चालकलाई सजाय दिने सीमा पनि घटाइएको छ । सास फेर्ने अल्कोहल परीक्षणमा प्रति लिटर ० दशमलव १५ मिलिग्राम वा त्योभन्दा बढी पत्ता लागेमा साइकल चालकलाई सजाय हुन सक्छ ।
नयाँ नियम लागू हुनुभन्दा पहिले साइकल राम्ररी चलाउन नसकेमा मात्र चालकहरूलाई धेरै हदसम्म दण्डित गरिन्थ्यो । साइकल चालकहरूलाई रक्सी दिने वा रक्सी आएर साइकल चलाउने कसैलाई साइकल दिने व्यक्तिहरूलाई पनि जरिवाना लागू हुन सक्ने खबरमा उल्लेख छ ।
जापानभरि नोभेम्बर २०२४ देखि यस वर्षको जुन महिनासम्म ४ हजार ५०० भन्दा धेरै मानिसहरू रक्सी खाएर साइकल चलाउँदै गरेको अवस्थामा पक्राउ परेको माइनिची अखबारले प्रहरी तथ्याङ्कलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।


