२०८२ मंसिर २५ बिहिवार , ०६:०६:५९ बजे

Sajhamanch
'

स्वास्थ्य बीमा धान्न मुश्किल पर्दै

बिहिवार, मंसिर २५, २०८२

काठमाडौं । स्वास्थ्य बीमाले अस्पतालहरूलाई भुक्तानी समयमै नगर्दा उपचार सेवामा समस्या देखिएको छ ।

स्वास्थ्य बीमा बोर्डले आज आयोजना गरेको कार्यक्रममा धुलिखेल अस्पतालका डाक्टर बलराम मल्लले गुणस्तरीय सेवा नहुँदा बीमित निराश हुने र स्वास्थ्य बीमा कार्यक्रम नै प्रभावकारी हुन नसक्ने बताउनुभयो । बोर्डले अस्पतालको भुक्तानी समयमा नगर्दा समस्या बढ्दो रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका सदस्य डाक्टर मुक्तिराम श्रेष्ठले बोर्ड परनिर्भर बन्दा कार्यक्रम प्रभावकारी बन्न नसकेको बताउनुभयो । उहाँका अनुसार बोर्डले वार्षिक झन्डै पौने ४ अर्ब प्रिमियम उठाउँछ भने अस्पतालहरूलाई बुझाउनुपर्ने भुक्तानी १४ अर्ब रुपैयाँसम्म पुग्छ ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले एक वर्षमा १ करोड २५ लाखले स्वास्थ्य बीमाबाट सेवा लिएको जानकारी दिनुभयो । काफ्लेका अनुसार एक बीमित नागरिकले वर्षमा सरदर पाँच पटकसम्म अस्पताल सेवा लिने गरेका छन् । स्वास्थ्य बीमाबाट मात्र वर्षमा झन्डै १० अर्ब बराबरको औषधि खरिद हुने गरेको उहाँको भनाइ छ ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले नेपालमा दिगो बीमाको व्यवस्था नरहेको बताउनुभयो । आधारभूत सेवाहरू पालिकाबाट नै उपलब्ध गराउनुपर्ने भए पनि ठूला अस्पतालमा भीड लाग्ने गरेको उहाँको भनाइ छ ।

मन्त्री गौतमले अस्पतालमा थुप्रिएको चापलाई कसरी कम गर्ने र बीमालाई कसरी लक्षित समुदायसम्म पुर्‍याउने भन्ने ध्येयका साथ आफूहरू अघि बढिरहेको बताउनुभयो ।

सम्बन्धित खबर