
झापा । थाइल्यान्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा ४ दिनदेखि भइरहेको दोहोरो गोलाबारीका कारण ५ लाखभन्दा धेरै नागरिक घरबार छोड्न बाध्य भएका छन् ।
दुवै देशले एक–अर्कालाई युद्ध शुरु गरेको आरोप लगाएका छन् । अहिलेसम्म सैनिक तथा सर्वसाधारण नागरिक गरी १३ जनाको ज्यान गइसकेको अल जजिराले जनाएको छ । थाइल्यान्डको रक्षा मन्त्रालयका अनुसार सात राज्यका सुरक्षित आश्रयस्थलहरूमा ४ लाखभन्दा धेरै थाइ नागरिकलाई सारिएको छ ।
कम्बोडियाले पनि पाँच वटा राज्यका १ लाखभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । दुई देशबीचको संघर्षमा थाइ लडाकु विमानले कम्बोडियाको एउटा सैन्य संरचनामा आक्रमण गरेको थाइल्यान्डको दाबी छ भने कम्बोडियाली पक्षले पनि थाइल्यान्डका सीमा क्षेत्रमा १२ भन्दा बढी ठाउँमा रकेट र तोप प्रहार गरेको बताएको छ ।
अस्पताल र बस्तीहरू नजिक गोलाबारी भएपछि नागरिक अस्थायी त्रिपालहरुमा बस्न बाध्य भएका छन् । सीमावर्ती क्षेत्रमा विस्फोटको आवाज लगातार आईरहेको खबरमा उल्लेख छ ।
गएको अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको युद्धविराम विफल भएपछि ट्रम्पले पुनः फोनमार्फत हस्तक्षेप गर्ने घोषणा गरे पनि थाइ विदेशमन्त्रीले वार्ताको सम्भावना तत्काल नभएको बताएको खबरमा उल्लेख छ ।
ह्युमन राईट्स वाचले संघर्ष तीव्र गतिमा अघि बढेको र कम्बोडियाले लामो दूरीका रकेट अनियन्त्रित तरिकाले प्रयोग गरेको जनाएको छ । थाइल्यान्डले कम्बोडियाले आधुनिक बमहरु तयार गरेको राखेको आरोप लगाए पनि कम्बोडियाले अस्वीकार गरेको छ ।
बिग्रँदो परिस्थितिमा कम्बोडियाले थाइल्यान्डमा भइरहेका दक्षिणपूर्व एशियाली खेलकुद प्रतियोगिताबाट बाहिरिएको घोषणा पनि गरेको छ । दुई देशबीचको तनाव ८०० किलोमिटर लामो असंलग्न सीमा र प्राचीन मन्दिर क्षेत्रका आपसी दाबीहरूकै कारण दशकौँदेखि बल्झिँदै आएको हो ।


