
काठमाडौं । अन्तरिक्ष प्रतिष्ठान नेपालका इन्जिनियरहरुको मार्गदर्शनमा चेपाङ समुदायका विद्यार्थीहरुले बनाएको स्याटेलाइट ‘स्लिपर्स टु स्याट’ आज बिहान चीनबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको छ ।
नेपाली समयअनुसार बिहान पौने १० बजे स्याटेलाइट प्रक्षेपण भएको अन्तराष्ट्रिय प्रतिष्ठान नेपालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएको छ । स्याटेलाइटबाट पहिलो जानकारी प्राप्त हुन केही समय लाग्नेछ ।
नेपाली स्याटेलाइट गएको आइतबार चिनियाँ रकेट काइनेटिका वनमा इन्टिग्रेट गरिएको थियो । एक किलो २० ग्राम तौल रहेको यो स्याटलाइटमा २ वटा क्यामेरा जडान गरिएको छ । ति क्यामेराले नेपालका वनस्पति र पानीको विवरण दिनेछन् ।
यस्तै स्याटलाइटमा भूकम्पको पूर्व सूचना अध्ययन गर्ने प्रविधि पनि रहेको छ । पृथ्वीको वरिपरि घुमिरहेको अवस्थामा यसलाई यहीँबाटै रोक्न सकिने र दिशा परिवर्तन गर्न सकिने प्रविधि पनि जडान गरिएको छ ।
यसमा नेपाली–स्याट वन र मुनाल उपग्रहहरूले प्रयोग गरेको प्रविधि अपनाउँदै अझ विकसित रूपमा डिजाइन गरिएको छ । यसले गर्दा क्यूबस्याटभित्र अन्य उद्देश्यका काम गर्न पर्याप्त ठाउँ उपलब्ध हुने इन्जिनियर बताउँछन् ।
यस मिसनले प्राकृतिक प्रकोपमा आवश्यक पर्ने तथ्यांक प्रसारण गर्ने कार्यमा सहयोग गर्ने अपेक्षा छ । एमेच्योर रेडियो डिजिटल कम्युनिकेसनले सहयोग गरेको यो परियोजनामा चितवनको चेपाङ समुदायका कक्षा ७ र ८ मा पढ्ने नौ जना बालबालिका र अन्तरिक्ष प्रतिष्ठान नेपालका ६ जना इन्जिनियर सहभागी थिए ।


