
काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० वटा राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन् ।
आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिकतर्फ निवेदन दिने हिजोसम्मको समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिएका हुन् । आयोगमा १४३ दल दर्ता भएका छन् । समानुपातिकतर्फ ४३ वटा दलले चासो देखाएनन् ।
आयोगले यही मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा निर्धारण गरेको थियो । आवेदन गर्नेमा संयुक्त चुनाव चिह्न लिएका र एकल चुनाव चिह्न लिएका राजनीतिक दल छन् । प्राप्त भएको आवेदनमाथि आवश्यक अध्ययन गरी पर्सिसम्म स्वीकृत गरिने आयोगले जनाएको छ ।
आयोगले तय गरेको कार्यसूची अनुसार आउँदो पुस १३ र १४ गते समानुपातिकतर्फको बन्द सूची पेश गर्नुपर्नेछ । बन्द सूचीमाथि आवश्यक अध्ययन गरी आउँदो माघ ४ गते प्रारम्भिक सूची प्रकाशित हुनेछ । त्यसपछि दाबी विरोध र आवश्यक छानबिन गरी माघ २० गते अन्तिम सूची प्रकाशित हुनेछ ।
कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् । यस्तै, ११० सदस्य भने समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् ।


