
विराटनगर । कोशी प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा ध्वस्त भएपछि कटहरीस्थित कृषि बजारमा सारिएको प्रदेशसभाको नयाँ सभा भवन मर्मतका लागि साढे ५ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ ।
मोरङको कटहरीस्थित फलफूल तथा कृषि थोक बजारको संरचनालाई संसद सञ्चालन योग्य बनाउन ५ करोड ४० लाख २४ हजार ७९२ रुपैयाँ बजेट चाहिने भौतिक पूर्वाधार विकास मन्त्रालयले माग गरेको हो । उक्त प्रदेशसभा बनाउने जिम्मा पूर्वाधार मन्त्रालयलाई दिइएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले तयार पारेको लागत अनुमान (स्टिमेट) आर्थिक मामिला तथा योजना मन्त्रालयमा पुगेको छ ।
मन्त्रालयले तयार पारेको विवरण अनुसार तरकारी बजारको संरचनालाई संसद भवनको रूप दिन विभिन्न चार शीर्षकमा बजेट बाँडफाँट गरिएको छ । जसमध्ये सबैभन्दा धेरै रकम संसदीय समितिहरूको बैठक कक्ष बनाउन खर्च हुनेछ ।
समिति हल मर्मत कार्यका लागि २ करोड ८५ लाख ६४ हजार ६२४ रुपैयाँ लाग्ने भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ । यस्तै बैठकका लागि सभाहल निर्माण तथा मर्मत गर्न २ करोड १३ लाख ५७ हजार ५५६ रुपैयाँ लाग्ने छ ।
मुख्य भवन तथा क्यान्टिन मर्मतका लागि २७ लाख ९९ हजार ८२७ रुपैयाँ र अन्य संरचना निर्माण गर्न १३ लाख २ हजार ७८३ रुपैयाँ लाग्ने मन्त्रालयले जनाएको छ ।


