
- रोहित काफ्ले
झापा । निर्माण व्यवसायी संघ झापाले १८औँ निर्माण दिवसको अवसरमा सोमबार झापाका दुई स्थानमा अपाङ्गता भएका बालबाालिकालाई न्यानो कपडा विरण गरेको छ ।
संघले झापाको अर्जुनधारास्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्र र कनकाई नगरपालिका लक्ष्मीपुस्थित हिमाली आधारभूत विद्यालयमा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीहरुलाई न्यानो कपडा ट्रयाकसुट वितरण गरेको हो ।
संघका अध्यक्ष रमेश अधिकारी तथा निवर्तमान अध्यक्ष मिलन बस्नेतसहित पदाधिकारी–सदस्यहरुले आज बिहान ती विद्यालयमा पुगेर न्यानो कपडा वितरण गरेका हुन् । न्यानो कपडा वितरण कार्यक्रममा झापाका निर्माण व्यवसयीहरुको उल्लेख्य सहभागिता थियो ।
अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा १६ र हिमाली आधारभूत विद्यालयमा २१ जनालाई ट्रयाकसुट वितरण गरिएको संघका कार्यालय सचिव ज्योति पौडेलले जानकारी दिए ।
निर्माण व्यवसायी संघ झापाले विगतदेखि नै व्यावसायिक हकहितका क्रियाकलापसँगै सामाजिक कार्यहरुलाई पनि प्राथमिकताका साथ निरन्तरता दिँदै आएको संघका अध्यक्ष रमेश अधिकारीले बताए ।

आर्थिक रुपमा कमजोर र असहाय वर्गका अपांगता भएका बालबालिका अध्ययन गर्ने विद्यालय छानेर यसवर्ष न्यानो कपडा वितरण गरिएको उनले जानकारी दिए ।
संघले निर्माण दिवस मनाउने सन्दर्भमा निर्माण क्लवको संयोजनमा कनकाईस्थित धनुषकोटीधाममा वनभोजसमेत आयोजना गरेको थियो ।
वनभोजस्थलमा अध्यक्ष अधिकारीको अध्यक्षतामा आयोजित औपचारिक समारोहको प्रमुख अतिथि नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष मोहनप्रसाद अधिकारीले उद्घाटन गरेका थिए । क्लवका संयोजक डम्बर फुँयलले स्वागत र सदस्य हेडम्बराज निरौला सञ्चालन गरेको समारोहमा महासचिव पुष्पराज निरौलाले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।
सो अवसरमा प्रमुख अतिथि अधिकारीले केही वर्षयता निर्माण व्यवसायीहरु पीडामा रहे पनि सामाजिक सेवाकार्यमा सधैँ क्रियाशील रहने गरेको बताए । उनले सिथिल अर्थतन्त्रलाई उकास्दै विकास–निर्माणका गतिविधिलाई तीब्र रुपमा अघि बढाउन सरकारसँग आग्रह पनि गरे ।
सो अवसरमा मनोरञ्जनात्मक खेलकुद प्रतियोगिता पनि आयोजना गरिएको थियो । त्यहाँ हण्डी फुटाइ, म्युजिकल चेयर, छेलो फ्याँक्ने खेल सञ्चालन गरिएको संघका सदस्य दिनेश मैनालीले जानकारी दिए ।


