
युएई । भुजेल जातिको मौलिक सांस्कृतिक पर्व उधौली पर्व (प्हुगाल पारिम) प्रवासी भुजेल समाज सेवा समित युएईको आयोजनामा दुबईको जाविल पार्कमा धुमधामका साथ सम्पन्न गरिएको छ ।
नेपाल आदिवासी जनजाती महासंघ युएईका अध्यक्ष भागरथिकुमार भगतको प्रमुख आथित्यमा भएको कार्यक्रममा उहाँले यस्ता कार्यक्रमले आफ्नो जातिको संस्कार, संस्कृतिलाई जीवन्त राख्न तथा आउने पुस्तालाई आफ्नो मौलिक संस्कार संस्कृति हस्तान्तरण गर्दै जानमा अहम भूमिका खेल्ने बताउनु भयो ।
उहाँले पराई भूमिमा रहेर पनि आफ्नो संस्कृति संरक्षणमा प्रवासी भुजेल समाजले खेलेको भूमिकाको खुलेर प्रसंसा गर्नु भएको थियो । महासंघमा आवद्ध मातृ सस्थाले गर्ने यस्ता कार्यक्रमहरुमा सधै साथ दिने उहाँको प्रतिवद्धता भयो ।
कार्यक्रममा समाजका संस्थापक अध्यक्ष एवं संरक्षक सूर्यबहादुर खवास, संस्थापक उपाध्यक्ष एवं संरक्षक घर्ती, सल्लाहकार दिलिप जिटी, सिन्धुपाल्चोक सेवा समाज युएईका महासचिव विश्व भुजेल तथा मानार्थ सदस्य मिरा पौडेलले उधौली पर्वको शुभकामना व्यक्त गर्नु भएको थियो ।

समाजका अध्यक्ष तुलबहादुर घर्तीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष संजय भुजेलले गर्नु भएको थियो भने कार्यक्रम उपाध्यक्ष देव भुजेलले संचालन गर्नु भएको थियो ।
औपचारिक कार्यक्रम पश्चात् मनोरञ्जनात्मक खेलकुद तथा सांस्कृतिक प्रस्तुति रहेको उक्त कार्यक्रममा वैदेशिक रोजगारीका शिलशिलामा युएईको विभिन्न राज्यमा श्रमशिल भुजेल दाजुभाइ तथा दिदीबहिनीहरुको उल्लेख्य सहभागिता थियो ।
आफ्नो जातीय परम्परा अनुसार विधिवत रुपमा सूर्य, वायु, जल, जमिन र जंगलको विधिवत आरधना गर्दै पूजा अर्चाना गरिएको उक्त कार्यक्रमा ब्राओको भूमिकामा प्रेम जिटी र सल्लाहकार दिलिप जिटी रहनु भएको थियो ।


