
काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गर्न लागेको छ ।
अख्तियारले विमानस्थल निर्माणको प्रक्रियामा जोडिएका सबै पूर्वमन्त्री, पदाधिकारी र संलग्न अधिकारीहरूलाई विपक्षी बनाएर आइतबार नै विशेष अदालतमा मुद्दा दर्ता गर्दैछ ।
पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीहरू भीम आचार्य, रामकुमार श्रेष्ठ, दीपक अमात्य, डा रामशरण महत र स्वर्गीय पोष्टबहादुर बोगटीलाई विपक्षी बनाएर अख्तियारले मुद्दा दर्ता गर्न लागेको छ ।
यो मुद्दाका विपक्षीमध्ये एक सुनसरीका आचार्य नेकपा एमालेका नेता हुन् । उनी यस पटक एमालेको उपाध्यक्ष बन्ने योजनामा छन् ।
उता नुवाकोटका महत कांग्रेसबाट पटक पटक अर्थमन्त्री भइसकेका नेता हुन् । उनी अहिले अलजाइमर्स रोगसँग जुधेर घरमै आराम गरिरहेका छन् ।
नुवाकोटकै माओवादी नेता बोगटीको निधन भइसकेको छ। उता रामकुमार श्रेष्ठ खिलराज रेग्मी नेतृत्वको नागरिक सरकारका मन्त्री थिए । उनी माओवादी कोटाबाट त्यसबेला मन्त्री बनेका थिए । उनी अकुत सम्पत्तिको मुद्दामा दोषी ठहर भइसकेका व्यक्ति हुन् ।
उता दीपक अमात्य हाल नेकपामा रहेका नेता झलनाथ खनालनिकट हुन् । झलनाथकै पहलमा अमात्य पर्यटमन्त्री भएका थिए ।
त्यस्तै, अख्तियारले विमानस्लथलको निर्णय प्रक्रियामा जोडिएका तत्कालीन सचिव, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सहित ५५ जनाविरुद्ध मुद्दा दर्ता गर्न लागेको छ ।
मुद्दा दर्ताको लागि अहिले अख्तियारको टोली विशेष अदालतमा पुगेर दर्ताको लागि आवश्यक काम गरिरहेको स्रोतले जानकारी दिएको छ ।


