
झापा । सुडानमा साना बालबालिका पढ्ने एउटा किन्डरगार्टनसहितका ठाउँमा आक्रमण हुँदा ४६ बालबालिकासहित ११६ जनाको ज्यान गएको छ ।
एक प्रि–स्कूल अर्थात् किन्डरगार्टनसहित कालोगी शहरका अस्पताल र सरकारी भवनहरूमा भएका आक्रमणमा ४६ बालबालिकासहित एक सय १६ जनाको ज्यान गएको सुडानी सेनालाई उद्धृत गर्दै समाचार संस्था अलजजीराले जनाएको छ ।
यो आक्रमण अर्धसैनिक समूह ‘र्यापिड सपोर्ट फोर्सेस’ (आरएसएफ) ले गरेको सुडानको डक्टर्स नेटवर्क र सेनाले जनाएका छन् । आरएसएफले भने यस सम्बन्धमा प्रतिक्रिया दिएको छैन ।
इस्लामिक कट्टरपन्थी अर्धसैनिक समूह आरएसएफले शुक्रवार डार्फर क्षेत्रमा सुडानी सेनाले ड्रोन आक्रमण गरेको आरोप लगाएको छ ।
सुडानमा सन् २०२३ को अप्रिलदेखि आरएसएफ र सेनाबीच सत्ता सङ्घर्ष चलिरहेको छ । दुवै पहिला एकअर्काका सहयोगी भएकामा अहिले एकअर्कालाई सिध्याउन प्रयास गरिरहेका छन् ।
गृहयुद्ध तेस्रो वर्षमा प्रवेश गर्दैगर्दा दशौं हजार मानिसको ज्यान गएको, ९० लाखभन्दा धेरै विस्थापित भएका र झन्डै तीन करोड मानिसलाई मानवीय सहायताको आवश्यकता परेको संयुक्त राष्ट्रसङ्घले बताएको छ ।


