२०८२ मंसिर २०, शुक्रवार , ०५:१९:१० बजे

Sajhamanch
'

फिर्ता भएकामध्ये ६ राजदूतद्वारा राजीनामा

शुक्रवार, मंसिर २०, २०८२

काठमाडौं । सरकारले फिर्ता बोलाएका मध्ये ६ जना राजदूतले राजीनामा दिनु भएको छ।

सरकारले ११ राजदूतलाई परराष्ट्र मन्त्रालयमा कामकाज गर्ने गरी फिर्ता बोलाएको थियो । तीमध्ये हालसम्म ६ जनाले राजीनामा दिनु भएको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार राजीनामा दिएका ६ जनाकै राजीनामा स्वीकृत भइसकेको छ ।

पछिल्लो समय रुसका लागि नेपाली राजदूत जंगबहादुर चौहान र मलेसियाका लागि नेपाली राजदूत डा। नेत्रप्रसाद तिमल्सिनाले राजीनामा दिनु भएको हो ।

यसअघि लोकदर्शन रेग्मी (अमेरिका), कृष्णप्रसाद ओली (चीन), चन्द्रकुमार घिमिरे (बेलायत), रमेशचन्द्र पौडेल (कतार) ले राजीनामा दिनु भएको थियो ।

विदेशबाट फर्किए लगत्तै उहाँहरूको राजीनामा आएको र सरकारले स्वीकृत समेत गरिसकेको प्रवक्ता क्षेत्रीले बताउनु भयो ।

उहाँहरूले गरिरहेको कार्यप्रगतिप्रति प्रश्न उठाउँदै सरकारले ३० असोजमा ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयपछि सर्वोच्चमा रिट दायर गरिएको थियो ।

रिट निवेदनमा सर्वोच्चले १६ कात्तिकमा अन्तरिम आदेश जारी गर्दै मुद्दाको टुंगो नलाग्दासम्म फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न भनेको थियो ।

सर्वोच्चको अन्तरिम आदेशपछि सरकारले घुमाउरो पारामा उहाँहरूलाई मन्त्रालयमा हाजिर भएर कामकाज गर्ने गरी फिर्ता बोलाएको थियो ।

परराष्ट्रले पत्र पठाएर उनीहरूलाई मन्त्रालयमा हाजिर गरी कामकाज गर्न भनिएको थियो । मन्त्रालयमा कामकाज गर्ने गरी बोलाइएका ६ राजदूत बाहेक शैल रुपाखेती (जर्मनी), धनप्रसाद पण्डित (इजरायल), नरेशविक्रम ढकाल (साउदी अरब), शनिल नेपाल (स्पेन) र डा. दुर्गाबहादुर सुवेदी (जापान) छन् । उहाँहरू भने परराष्ट्र मन्त्रालयमा दैनिक हाजिर गरेर कामकाज गर्दै आउनु भएको छ ।

उहाँहरूले भने सर्वोच्चको मुद्दाको टुंगो लागेपछि मात्रै निर्णय गर्ने बताउँदै त्यतिन्जेलसम्म सरकारको निर्णय अनुसार मन्त्रालयमा जाने गरेको बताउनु भएको छ ।