२०८२ मंसिर २०, शुक्रवार , ०६:१०:५८ बजे

Sajhamanch
'

राष्ट्रियसभा चुनाव : मतपत्रको पहिलो नम्बरमा एमाले, अन्तिममा श्रम संस्कृति पार्टी

शुक्रवार, मंसिर २०, २०८२

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनमा विभिन्न १३ वटा राजनीतिक दलले भाग लिने भएका छन् ।

राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएका १३ वटै दललाई निर्वाचन आयोगले स्वीकृत गरेको छ । साथै ती दलहरूलाई निर्वाचन चिह्न समेत प्रदान गरेको छ ।

मतपत्रमा क्रमशः नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपालको निर्वाचन चिह्न हुनेछ ।

छैठौं नम्बरपछि क्रमशः जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी–नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, बहुजन शक्ति पार्टी र तराई/मधेश लोकतान्त्रिक पार्टीको क्रम निर्धारण भएको छ ।

नयाँ दर्ता भएका दुई दल नागरिक उन्मुक्ति पार्टी, नेपाल र श्रम संस्कृति पार्टीको निर्वाचन चिह्न मतपत्रको अन्तिममा रहनेछ ।

दर्ता स्वीकृत भएको र क्रम निर्धारण गरिएको सबै दलको निर्वाचन चिह्न सात वटै प्रदेशमा एकैनासको हुनेछ ।

आगामी फागुन २० गते बाट राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल सकिँदैछ । त्यसमध्ये एक जना वामदेव गौत्तम राष्ट्रपतिबाट मनोनित सांसद हुन् । बाँकी १८ पदका लागि निर्वाचन हुँदैछ ।

कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २/२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २/२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुनेछ ।

निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि प्राप्त निवेदन स्वीकृत गर्नुका साथै उनीहरूको क्रमसमेत निर्धारण गरिदिएको छ ।

आयोगका अनुसार २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा दलहरूले समानुपातिकतर्फ प्राप्त गरेको मतका आधारमा क्रम निर्धारण गरिएको हो ।

सम्बन्धित खबर