२०८२ मंसिर १९, बिहिवार , ०८:४७:१९ बजे

Sajhamanch
'

मेचीनगरमा बालविवाह, साइबर हिंसा र डिजिटल सुरक्षा सम्बन्धी प्रशिक्षण

बिहिवार, मंसिर १९, २०८२

मेचीनगर । महिला जनचेतना केन्द्रले विद्यार्थीलाई यौन, प्रजनन् स्वास्थ्य अधिकार, साइबर हिंसा र डिजिटल सुरक्षा सम्बन्धी तालिम दिइरहेको छ ।

महिलामाथि हुने सबै प्रकारका हिंसा, बालविवाह लगायतका समाजिक क्षेत्रमा काम गर्दै आइरहेको मेचीनगर–६ काँकरभिट्टास्थित केन्द्रले बालविवाह तथा कम उमेरमा हुने विवाह न्यूनीकरण अन्तरगत यौन, प्रजनन् स्वास्थ्य अधिकार, साइबर हिंसा र डिजिटल सुरक्षा सम्बन्धी तीन दिवसीय तालिम बिहीबारदेखि सुरु गरेको हो ।

संस्थाको आफ्नै भवनमा सञ्चालित तालिममा लैङ्गिक हिंसा विरुद्व १६ दिने अभियान चलिरहेको बेला ‘बाल विवाह रोकीँ, बालापन जोगाँउ’ भन्ने नारासहित कचनकवल गाउँपालिका, बाह्दशी गाउँपालिका र मेचीनगर नगरपालिकाका कक्षा–७ देखि १२ कक्षासम्मका १२ जना विद्यार्थीहरुलाई तालिम दिइरहेको छ । तालिममा बाह्रदशीबाट ३ जना, कचनकवलबाट ३ जना र मेचीनगरबाट ६ जना विद्यार्थी सहभागी भएका छन् ।

तालिमको उद्घाटन मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङले गरेका थिए । कार्यक्रममा वडाध्यक्ष तामाङ, मेचीनगर नगरपालिका महिला, बालबालिका तथा सामाज कल्याण शाखा प्रमुख जयन्ती खरेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष अम्बिका भण्डारी, महिला जनचेतना केन्द्रका संस्थापक अध्यक्ष राधा प्रधान कार्की लगायतले किशोरी अवस्थामा बालविवाह गर्न हुँदैन । जेनजेड समूहले पनि अभिभावकहरुको बिना सल्लाह क्षणिक निर्णयले गलत बाटो हिड्ने भएकोले सही बाटो हिड्नु पर्ने बताए ।

सहभागी विद्यार्थिहरुलाई पहिलो दिन आज यौन तथा प्रजनन् स्वास्थ्य अधिकार विज्ञ प्रकृति बाँस्तोलाले यौनता र यौन व्यवहार, यौन अभिमुखिकरण, व्यापक यौन शिक्षा, हिंसा, अपराध र कानुन लगायतका विषयमा प्रशिक्षण दिइन् ।

भोलि शुक्रबार यौन तथा प्रजनन् स्वास्थ्य अधिकार विज्ञ जोस्ना बुढाथोकीले किशोर अवस्थाका समस्या, राम्रो छुवाई, नराम्रो छुवाई, यौनरोग, परिवार योजना, सुरक्षित गर्भपतन, महिनावारी, बालविवाह लगायतका विषयमा प्रशिक्षण दिने छन् ।

र, अन्तिम दिन शनिबार इलाका प्रहरी कार्यालय काँकरभिट्टा महिला सेलका प्रमुख प्रहरी निरीक्षक मिलनकुमारी राईले साइबर हिंसा र डिजिटल सुरक्षा सम्बन्धी प्रशिक्षण दिने कार्यतालिका छ ।

सोही अवसरमा महिला जनचेतना केन्द्रका कार्यक्रम संयोजक मनिला उप्रेती सुवेदीले पनि सहभागी विद्यार्थीहरुलाई कार्यक्रमको उद्देश्यमाथि प्रष्ट पारेकी थिइन् ।

महिला जनचेतना केन्द्रका सचिव भूवन सुब्बाको अध्यक्षतामा भएको उद्घाटन सत्रको समापनको स्वागत सहभागी विद्यार्थी फुलबारी किशोरी समूहकी सदस्य पुनम बेगमले र सञ्चालन संस्थाकी सदस्य रेजिना श्रेष्ठले गरेकी थिइन् ।

सम्बन्धित खबर