२०८२ मंसिर १८, बुधवार , १२:१९:५९ बजे

Sajhamanch
'

अमेरिकी अधिकारी र रुसी राष्ट्रपति पुटिनबीचको छलफल निष्कर्षविहीन

बुधवार, मंसिर १८, २०८२

झापा । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी अधिकारीहरूबीच ५ घण्टा लामो छलफल निष्कर्षविहीन भएको छ ।

रुस–युक्रेन युद्ध अन्त्यका लागि सम्भावित शान्ति सम्झौताबारे सहमति जुटाउन भनेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना मध्यपूर्व हेर्ने विशेष दूत स्टिभ विटकोफलगायत अधिकारीलाई रुस पठाउनुभएको थियो ।

हिजो क्रेमलिनमै पुटिनले उनीहरूसँग ५ घन्टासम्म कुराकानी गरेको रोयटर्सले जनाएको छ । यद्यपि शान्ति सम्झौताबारे सहमति भने हुन नसकेको पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभले बताउनुभएको छ ।

सम्झौताका बुँदाहरूमा अहिलेसम्म कुनै किसिमको समझदारी नबनेको खबरमा उल्लेख छ । सम्झौतामा भएका केही प्रस्तावहरूबारे पुटिनको असहमति रहेको छ ।

यद्यपि वार्ता रचनात्मक भएको र अमेरिका–रुसबीच आर्थिक सहकार्यको ठूलो सम्भावना रहेको अमेरिकी अधिकारीको भनाइ छ । पुटिन र ट्रम्पबीच तत्काल भेटवार्ता भने तय भएको छैन । भूगोलको विषय, क्षेत्रीय समस्यालगायतका केही विषयमा रुसले गम्भीर असहमति जनाएको छ ।

विशेषगरी डोनबास क्षेत्रमाथि रूसी दाबी मान्य हुनुपर्ने रुसको अडान छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति स्थापनाका लागि स्थिति सहज नरहेको तर आफू निरन्तर प्रयत्न गरिरहेको बताउनुभएको छ । युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहाले पुटिनका अभिव्यक्तिबाट उहाँले शान्ति र स्थिरता नचाहेको टिप्पणी गर्नुभएको छ ।

सम्बन्धित खबर