२०८२ मंसिर १२, बिहिवार , ०१:३८:३२ बजे

Sajhamanch
'

संयुक्त चुनाव चिह्नमा निर्वाचन लड्ने बढ्दै, तीन समूहले दिए निवेदन

बिहिवार, मंसिर १२, २०८२

काठमाडौं । संयुक्त चुनाव चिह्नमा निर्वाचन लड्न चाहने दलहरूको संख्या बढ्दै गएको छ ।

एक भन्दा बढी दलहरूले एउटै चुनाव चिह्नमा निर्वाचन लड्न चाहे निर्वाचन आयोगसँग स्वीकृति लिनुपर्छ । कुन दलको चुनाव चिह्नमा संयुक्त चुनाव लड्ने हो त्यसबारे आयोगमा निवेदन दिनुपर्ने हुन्छ । त्यसअनुसार आयोगले निर्णय दिनेछ ।

उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपाल संयुक्त चुनाव चिह्नमा चुनाव लड्न चाहेका छन् । यी दुई पार्टीले बिजुलीको चिम चुनाव चिह्नमा निर्वाचन लड्ने भनेर निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले पनि एउटै चुनाव चिह्नमा निर्वाचन लड्ने तयारी गरेका छन् । यी तीनवटा दलले जाँतो चुनाव चिह्नमा निर्वाचन लड्न आयोगमा निवेदन दिएका छन् ।

नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टीले पनि एकल चुनाव चिह्नमा चुनाव लड्ने भनेर निवेदन दिएका छन् ।

राजनीतिक दल सम्बन्धी ऐनको दफा ४९ मा एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिन सक्ने व्यवस्था छ । जसअनुसार दुई वा दुई भन्दा बढी दलले कुनै दलले प्राप्त गरेको निर्वाचन चिह्न वा अन्य कुनै निर्वाचन चिह्न लिई संयुक्त रुपमा निर्वाचनमा सहभागी हुने गरी निवेदन दिन सक्छन् ।

संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने दलको तर्फबाट उम्मेदवारी दिँदा त्यस्तो उम्मेदवार कुन दलसँग सम्बन्धित हो त्यो समेत खुलाउनु पर्नेछ ।

दुई वा दुईभन्दा बढी दल संयुक्त रूपमा निर्वाचनमा सहभागी भएकोमा त्यस्ता दलमध्ये सबैभन्दा बढी सिट प्राप्त गर्ने दलको नाममा एउटा मात्र संसदीय दल गठन हुनेछ ।

त्यसरी संयुक्त रुपमा निर्वाचनमा सहभागी भएका अन्य दलका पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने सदस्यहरू सोही संसदीय दलको सदस्य भएको मानिनेछ ।

नयाँ निर्वाचन चिन्ह लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी भएकोमा त्यस्ता सबै दलबाट निर्वाचित सदस्यहरूको दफा २४ बमोजिम नयाँ संसदीय दल गठन हुनेछ । त्यस्तो संसदीय दलको नाम सोही संसदीय दलले निर्धारण गरे बमोजिम हुनेछ ।

४ मंसिर २०७९ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ८४ दलले चुनाव लडेका थिए । त्यसबेला पनि कतिपय दलहरूले संयुक्त चुनाव चुनाव चिह्नमा चुनाव लडेका थिए ।

अघिल्लो पटकभन्दा यसपटक निर्वाच्न लड्ने दलको संख्यामा उल्लेख्य वृद्धि भएको छ । बुधबारसम्म निर्वाचन प्रयोजनका लागि १०६ वटा दल दर्ता भइसकेका छन् । दल दर्ताको समय थपिएर मंसिर १४ गतेसम्म पुर्‍याइएको छ । यसकारण अझ केही दल थपिनेछन् ।

सम्बन्धित खबर