२०८२ मंसिर १२, बिहिवार , ०१:५९:१४ बजे

Sajhamanch
'

हङकङको एउटा हाउजिङ कम्प्लेक्समा भएको आगलागी २३ घण्टादेखी जारी

बिहिवार, मंसिर १२, २०८२

झापा । हङकङको एउटा हाउजिङ कम्प्लेक्समा लागेको आगो २३ घण्टामा पनि बलिरहेको छ । स्थानीय समय अनुसार हिजो दिउँसो दुई बजेर ५१ मिनेटमा शुरू भएको आगो फैलिएर राती उच्च रुप लिएको थियो । अहिले धेरैजसो भवनको आगो नियन्त्रणमा आएपनि आगो बलिरहेको बीबीसीले जनाएको छ ।

ताइ पो इलाकामा रहेको वाङ्फुक कोर्ट नामक विशाल हाउजिङ कम्प्लेक्समा आगो लाग्दा ४४ जनाको ज्यान गएको छ भने ४५ जना गम्भिर घाइतेको उपचार भइरहेको छ । २७९ जना हराइरहेका छन् । ज्यान गुमाउनेमध्ये एक जना आगो निभाउन खटिएका व्यक्ति हुन् ।

वाङ्फुक कोर्टमा ३१–३१ तलाका अग्ला आठ वटा भवनहरू थिए । तीमध्ये आगलागीका कारण सातवटा भवन प्रभावित भइसकेको ताइ पो डिस्ट्रिक्ट काउन्सिलर मुइ सिउ–फुङलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सन् २०२१ को जनगणनाअनुसार ती बहुतले भवनहरूमा एक हजार ९८४ वटा अपार्टमन्ट थिए । जहाँ चार हजार ६०० मानिसहरू बस्थे । सन् १९८३ मा बनाइएका ती भवनहरूमा मर्मत चलिरहेको थियो । भवनका बाहिरपट्टि बाँसका स्काफोल्डिङलाई हरियो जालीले छोपिएको थियो ।

भिडिओ फुटेजहरूमा बाँसहरूबाट आगो चाँडो फैलिरहेको देखिन्छ । आगो अस्वभाविक रुपमा द्रूत गतिमा फैलिनुमा झ्यालहरूमा पोलिस्टिरिनको प्रयोग मुख्य कारण रहेको हङकङका सुरक्षा अधिकारीले बताएका बीबीसीले जानएको छ ।

आगो लागेको पहिलो सूचना आएको ४० मिनेटभित्र नै त्यसलाई लेभल फोर घोषणा गरिएको थियो भने बेलुका साढे ६ बजेतिर लेभल फाइभ घोषणा गरिएको थियो । जुन आगलागीको सबैभन्दा खराव अबस्था हो । हङकङमा ‘लेभल फाइभ’ को आगलागी योभन्दा पहिला १७ वर्षअघि भएको थियो । अहिलेको आगलागी हङकङमा ६० वर्षयताकै सबैभन्दा खराव हो ।

अत्यधिक तापका कारण अग्नि नियन्त्रकहरूलाई भवनमा पसेर उद्धार गर्न कठिनाइ भएको र कहिलेसम्म आगो पूर्ण नियन्त्रण हुन्छ भन्न नसकिने अग्नी नियन्त्रकहरुले बताएका छन् । आगो निभाउन ७६७ जना अग्नि नियन्त्रकका साथै १२८ दमकल, ५७ एम्बुलेन्स र झण्डै ४०० प्रहरी खटाइएका छन् ।

आगलागीको कारण खुलेको छैन । प्रहरीले अनुसन्धानका लागि निर्माण कम्पनीका दुई जना निर्देशक र एक जना इन्जिनियरिङ कन्सल्ट्यान्टलाई पक्राउ गरेको छ ।

सम्बन्धित खबर