२०८२ मंसिर ८, आइतवार , ०२:१६:५८ बजे

Sajhamanch
'

एनपीएलमा लिग चरणका २८ मध्ये ८ वटा खेल सकिँदा कुन टोली कुन स्थानमा

आइतवार, मंसिर ८, २०८२

काठमाडौं । गएको मंसिर १ गते सोमवारदेखि शुरु भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लिग चरणका २८ वटा खेलमध्ये अहिलेसम्म आठ वटा खेल सकिएका छन् ।

पहिलो पटक ‘फ्लडलाइट’ र स्थायी प्यारापिटमा एनपीएलका खेल भइरहेका छन् । काठमाडौंको कीर्तिपुरमा रहको त्रिवि क्रिकेट रङ्गशालामा एनपीएलका आठ वटै टोलीले कम्तिमा एउटा खेल खेलेका छन् ।

कुन टोली कुन स्थानमा ?

उद्घाटन खेलमा पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई काठमाण्डु गोखार्जले हराउँदै विजयी शुरुआत गरेको थियो । काठमाण्डुले अहिलेसम्म ३ वटा खेल खेलेको छ भने जनकपुरले एउटा मात्रै खेल खेलेको छ । अहिलेसम्मको अङ्कतालिकाअनुसार समान २ खेल खेलेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स समान ४ अङ्कसहित पहिलो र दोश्रो स्थानमा छन् । सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा काठमाण्डु र दोश्रो खेलमा पोखरा एभेन्जर्सलाई हराएको हो ।

यस्तै विराटनगर किङ्ग्सले पनि आफ्नो पहिलो खेलमा पोखरा र दोश्रो खेलमा काठमाण्डुलाई हराएको हो । ३ खेलमा २ खेल हारेको काठमाण्डु तेश्रो स्थानमा छ । २ खेलमा १ जीत र १ हारसहित लुम्बिनी लायन्स, चितवन राइनोज र कर्णाली याक्स समान २ अङ्कसहित चौथो, पाँचौं र छैटौं स्थानमा छन् । एउटा मात्रै खेल खेलेको जनकपुर पुछारबाट दोश्रो स्थानमा छ भने २ वटा खेल खेलेको पोखरा दुवै खेलमा पराजित हुँदै तालिकाको पुछारमा छ ।

मार्क वाटकाे शतक 

दोश्रो संस्करणको एनपीएलमा कर्णाली याक्सका मार्क वाटले शतकीय पारी खेलेका छन् । उनले हिजो लुम्बिनीसँगको खेलमा ४४ बलमा अविजित ११४ रन बनाएका छन् । वाट एनपीएलमा शतक बनाउने दोश्रो खेलाडीसमेत बनेका छन् ।

वाट एकै खेलमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी बनेका छन् । उनले १२ छक्का प्रहार गरे । पहिलो संस्करणमा लुम्बिनीका विवेक यादवले सुदूरपश्चिमसँग, चितवनका कुशल मल्लले जनकपुरसँग तथा विराटनगरका लोकेश बमले पोखरासँग खेल्दा समान ७ छक्का प्रहार गरेका थिए ।

पहिलो शतक पहिलो संस्करणमा पोखराका एन्द्रिस गाउसले बनाएका थिए । उनले लुम्बिनीसँगको खेलमा अविजित १ सय ४ रन बनाएका हुन् । दुवै खेलाडीले लुम्बिनीसँगको खेलमा शतक बनाएका हुन् ।

भोलि दुई वटा खेल हुँदै

एनपीएलमा आज आइतवार खेल हुनेछैन । नेपाल क्रिकेट सङ्घ (क्यान)ले यसअघि नै सार्वजनिक गरेको खेलतालिका अनुसार आज विश्रामको दिन राखेको हो । एनपीएलमा भोलि दुई वटा खेल हुँदैछन् । भोलि हुने पहिलो खेलमा बिहान पौने १२ बजे जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीच तथा दोस्रो खेलमा दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुनेछ । दोस्रो संस्करणको एनपीएल क्रिकेटमा सुदूरपश्चिम, पोखरा, विराटनगर, काठमान्डु, लुम्बिनी, चितवन, जनकपुर र कर्णाली गरी आठ वटा टोली सहभागी छन् । प्रतियोगिता यही २७ गतेसम्म चल्नेछ ।

सम्बन्धित खबर