
झापा । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्ने शान्ति योजनाको मस्यौदा प्राप्त गरेपछि आफू अमेरिकासँग काम गर्न तयार रहेको बताउनुभएको छ ।
शान्ति योजनाको मस्यौदा अन्तर्गत युक्रेनले अझै पनि आफ्नो नियन्त्रणमा रहेको पूर्वी युक्रेनको डोन्बास क्षेत्र रुसलाई दिनुपर्ने, आफ्नो सेनाको आकार घटाउनुपर्ने, नेटोमा सामेल नहुने वाचा गर्नुपर्ने अमेरिकी मिडिया आउटलेटहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । मस्यौदामा २८ बुँदा रहेको उल्लेख छ ।
योजनाको मस्यौदा तयार पार्न युक्रेन कति संलग्न थियो भन्ने कुरा स्पष्ट छैन तर ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले अमेरिका दुवै पक्षसँग समान रूपमा संलग्न भएको बताउनुभएको छ ।
यस्तै युक्रेनी राष्ट्रपति जेलेन्स्कीको कार्यालयले विज्ञप्ति निकालेर शान्ति योजनाको प्रावधानहरूमा युद्धको न्यायपूर्ण अन्त्य गर्ने तरिकाले काम गर्न सहमत भएको जनाएको छ ।
फाइनान्सियल टाइम्स र एक्सियोसद्वारा प्रकाशित योजनाको मस्यौदा अनुसार युक्रेनको सेना ६ लाख सङ्ख्यामा सीमित हुनेछ र युरोपेली लडाकु विमानहरू पोल्यान्डमा तैनाथ गरिनेछन् ।
मस्यौदामा युक्रेनले भरपर्दो सुरक्षा ग्यारेन्टी प्राप्त गर्ने उल्लेख छ, यद्यपि थप विवरण सार्वजनिक नभएको खबरमा उल्लेख छ । यस्तै रुसमाथिका प्रतिबन्धहरू हटाएर विश्वका सबैभन्दा शक्तिशाली देशहरूको मञ्च जी–७ मा पुनः सामेल हुन आमन्त्रित गरेर जी–७ लाई फेरि जी–८ बनाउने, रुसलाई विश्वव्यापी अर्थतन्त्रमा पुनः एकीकृत गरिने मस्यौदामा उल्लेख छ ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आउँदा दिनहरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रस्तावहरूको बारेमा कुरा गर्ने अपेक्षा गरेको बताउनुभयो जसमा युक्रेनले आफ्ना धेरै हतियारहरू त्याग्ने योजना पनि समावेश छ ।
पछिल्लो योजनाको मस्यौदामा युक्रेन तथा उसका युरोपेली साझेदारहरू सामेल छैनन् ।


