
झापा । इलाका प्रहरी कार्यालय दमकबाट जेनजी आन्दोलनका बेला लुटिएको दुई थान हतियार पाँचथरमा लुकाइ राखेको अवस्थामा फेला परेको छ ।
भदौ २४ गते दमकस्थित प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी र हतियार लुटपाट घटनामा संलग्न व्यक्तिहरूको खोजतलास गर्दै जाँदा प्रहरीले हतियार बरामत गरेको हो ।
विशेष सूचनाका आधारमा मंगलवार दिउँसो १ः३० बजे दमक नगरपालिका–६ बाट पाँचथर मिक्लाजुङ–३ बस्ने २२ वर्षीय सुशिल फियाक (लिम्बु) लाई प्रहरीले पक्राउ गरेको थियो ।
सो क्रममा प्रहरीले प्रारम्भिक सोधपुछ गर्दा फियाकले लुटिएका हतियार पाँचथरको मिक्लाजुङ–३ आरुबोटे लामागाउँस्थित ओडारमा लुकाइ राखेको स्वीकारेपछि जिल्ला प्रहरी कार्यालय पाँचथरसँग समन्वय गरी प्रहरी निरीक्षक नबिन राईको कमाण्डमा टोली खटाइएको थियो ।
प्रहरी टोलीले फियाकको देखाएको स्थानबाट २ थान हतियार तथा गोलीगठ्ठा बरामद गरेको हो । सिरियल नम्बर ६२०३८ रहेको म्याग्जिन सहितको ३०३ मार्क–३ राइफल १ थान, सिरियल नम्बर ०३११०२७३९ भएको म्याग्जिन नभएको, बट र ह्याण्ड ग्रिप जलेको अवस्थामा रहेको इन्सास राइफल १ थान, इन्सास राइफलका जंगी राउन्ड १ थान र एसएलआरका जंगी राउन्ड ३ थान बरामत गरिएको झापा प्रहरीले जनाएको छ ।
बरामद हतियारहरू कानून बमोजिम नियन्त्रणमा लिएर फियाकलाई हतियार तथा खरखजना सम्बन्धी मुद्दामा इलाका प्रहरी कार्यालय दमक मार्फत थप अनुसन्धान र आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।


