
जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि दर्ता भएको महाभियोगमाथि छलफल गर्न प्रदेशसभा बैठक डाकिएको छ ।
आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
बैठकमा सहभागिताको लागि प्रदेश सभा सचिवालयले सामाजिक सञ्जालको ग्रुपमार्फत जानकारी पठाएको छ ।
गत कात्तिक २७ गते मधेश प्रदेश सभामा सात दलीय गठबन्धनका ६४ जना प्रदेश सांसदले सभामुख मण्डलविरुद्ध पद अनुकुल आचरण नगरेको भन्दै महाअभियोग प्रस्ताव प्रदेशसभामा दर्ता गराएका थिए ।
सो विषयमा एक साताभित्र सदनमा छलफल गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
उपसभामुख बबिता राउत ईशरको निर्देशनमा प्रदेश सभा बैठक बोलाइएको हो । सात दलीय गठबन्धनका ३२ जना प्रदेश सांसदले मंगलबार प्रदेशसभा बैठक बोलाउन उपसभामुख ईश्वरलाई ज्ञापनपत्र बुझाएका थिए ।


