
काठमाडौं । काठमाडौंको कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा आज नेपाल प्रिमिएर लिग (एनपीएल) को दोस्रो संस्करण भव्य रूपमा शुभारम्भ हुँदैछ । पहिलो पटक प्यारापिट र फ्लडलाइटसहितको रङ्गशालामा खेल हुन लाग्दा देश, विदेशका क्रिकेटप्रेमी उत्साहित छन् ।
हरेक क्रिकेटप्रेमीको ध्यान यतिखेर एनपीएलतिर केन्द्रित भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको पहिलो संस्करणको यस प्रतियोगिता सशक्त टोली र विश्व क्रिकेटका चर्चित खेलाडीको सहभागिताका कारण पनि बढी चर्चामा छ । क्रिकेट टोलीमा भइरहेको लगानी र आकर्षणले पनि नेपाली क्रिकेटप्रति सार्वजनिक चासो बढ्दो छ ।
घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएलमा आठ फ्रेञ्चाइज टिम– विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । पहिलो संस्करण जस्तै दोस्रो संस्करणको एनपीएललाई पनि खेलाडी, दर्शक र खेलसँग सम्बन्धित निकायले उत्तिकै महत्त्व दिएका छन् । आ–आफ्नो टोलीको मनोबल बढाउन विभिन्न पुरस्कार राशीको घोषणा पनि भएका छन् ।
एनपीएलका कुल ३२ मध्ये २३ खेल फ्लडलाइटमा हुनेछन् । लिग चरणका १९ खेल अनि प्लेअफका तीन र फाइनल गरी २३ खेल फ्लडलाइटमा खेलाइने तय भएको छ । पहिलो संस्करणमा केही सङ्ख्यामा मात्र चर्चित खेलाडीहरू आएर खेलेको एनपीएलमा यस पटक पहिलेभन्दा धेरै विदेशी खेलाडीहरू अनुबन्ध भइसकेका छन् । विभिन्न टोलीले विश्व चर्चित खेलाडीहरूलाई अनुबन्ध गरिसक्दा यस पटक एनपीएल अझ भव्य हुने देखिएको छ ।
विराटनगर किङ्ग्स
कोशी प्रदेशको प्रतिनिधित्व गर्ने विराटनगर किङ्ग्सको नेतृत्व राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत रहेका सन्दीप लामिछानेले गरेका छन् । विराटनगरले विदेशी खेलाडीका रूपमा ६ जनालाई अनुबन्ध गरेको छ । दक्षिण अफ्रिकाका फाफ डु प्लेसी र न्युजिल्यान्डका मार्टिन गप्टिल यही टोलीबाट खेल्दैछन् । यस्तै दक्षिण अफ्रिकाका मर्चेन्ट डे लाङ, स्कटल्यान्डका जर्ज मुन्से, अस्ट्रेलियाका साम हिजलेट र अमेरिकाका शुभम रन्जाने पनि विराटनगर किङ्ग्समा अनुबन्ध भएका छन् ।
विराटनगरमा स्वदेशी खेलाडीका रूपमा प्रतिश जिसी, बसिर अहमद, लोकेश बम लगायत परिचित खेलाडी समावेश छन् । यस्तै नरेन भट्ट, सुवास भण्डारी, नारायण जोशी, सूर्य तामाङ, साहील पटेल, शङ्कर राना, श्रवण रिनु र आयुश न्यौपानेलाई पनि विराटनगरले अनुबन्ध गरेको छ । विराटनगर किङ्ग्सको मुख्य प्रशिक्षकमा धामिका प्रसाद रहेका छन् ।
जनकपुर बोल्ट्स
मधेश प्रदेशको राजधानी जनकपुरको प्रतिनिधित्व गर्ने टाेली हाे जनकपुर बोल्ट्स । पहिलाे संस्करणको उपाधि दिलाएका राष्ट्रिय टोलीका खेलाडी अनिल साहले यसपालि पनि टोलीको नेतृत्व गर्दैछन् । उनीसँगै राष्ट्रिय टोलीका मुख्य ओपनर तथा विकेटकिपर आशिफ शेख छन् भने स्पिनर ललित राजवंशी पनि जनकपुरमा रहेका छन् । जनकपुरले ६ जना विदेशी खेलाडी अनुबन्ध गरेको छ । श्रीलङ्काका लाहिरु मिलान्था र लाहिरु समाराकुन तथा दक्षिण अफ्रिकाका इमरान ताहिर र वायने पार्नेल खेल्दैछन् । यस्तै सन्जय कृष्णमूर्ति र जान लफ्टी इटनले पनि जनकपुरबाट खेल्दैछन् ।
जनकपुरले टोलीको मुख्य प्रशिक्षकमा वेस्ट इन्डिजका शिवनारायण चन्द्रपललाई अनुबन्ध गरेको छ ।
काठमाडौं गोर्खाज
सङ्घीय राजधानी काठमाण्डौका नाममा काठमाण्डौ गोर्खाजको टोली बनेको छ । राष्ट्रिय टोलीका बलर करण केसीले टोलीको नेतृत्व गर्दैछन् । टाेलीमा करणसँगै भीम सार्की, शाहब आलम, दीपेश कँडेल, राशिद खान र प्रतीक श्रेष्ठलाई रिटेन गरेको छ । यस्तै आदिल आलम, उत्तम मगर, आकाश त्रिपाठी, तुलबहादुर थापा र सन्तोष यादव र नटराजन शाहले काठमाण्डाैबाट खेल्दैछन् ।
काठमाण्डाैकाे प्रशिक्षकमा मोन्टी देसाई रहेका छन् ।
चितवन राइनोज
चितवन राइनोज एनपीएलमा बाग्मती प्रदेशबाट सहभागी हुने दोस्राे टोली हो । चितवनकाे नेतृत्व राष्ट्रिय टाेलीका अलराउन्डर कुशल मल्ले गर्दैछन् । टोलीमा कुशलसँगै विपिन आचार्य, कमलसिंह ऐरी, दीपक बोहरा, रिजन ढकाल, सौगात ढकाल, गौतम केसी, देव खनाल, रञ्जित कुमार, अमरसिंह रटेउला, विपिन रावल, अर्जुन साउद छन् ।
चितवनले पाँच जना विदेशी खेलाडी अनुबन्ध गरेको छ । रबि बोपारा, सोहेल तनभीर, डेभिड मालान, सेफ अली जेब र अल्पेस रामजानीले चितवनबाट खेल्दैछन् ।
चितवन राइनोजको मुख्य प्रशिक्षकमा कलाम अली छन् ।
पोखरा एभेन्जर्स
पोखरा एभेन्जर्स गण्डकी प्रदेशको राजधानी पोखराको नाममा बनेको टोली हो । पोखरा एभेन्जर्सको कप्तानी राष्ट्रिय टाेलीका ओपनर ब्याटर कुशल भुर्तेलले गर्दैछन् । टाेलीमा कुशलसँगै दिनेश खरेल, सागर ढकाल, आकाश चन्द, तृत राज दास, विपिन खत्री, किरण ठगुन्ना, अर्जुन कुमाल, सन्दिप क्षेत्री, कृष्ण पौडेल र अभिषेक तिवारी रहेका छन् ।
पोखराले इङ्ल्यान्डका चर्चित खेलाडी जेसन रोयलाई अनुबन्ध गरेको छ । जेसनसँगै न्युजिल्यान्डका जिम्मी निशम, एडम रोसिङ्गटोन, रेमन रेइफर र डान डौथवेइटलाई अनुबन्ध गरेको छ ।
पोखरा एभेन्जर्सका प्रमुख प्रशिक्षक राजीव कुमार हुन् ।
लुम्बिनी लायन्स
लुम्बिनी प्रदेशकै नाम रहेको लुम्बिनी लायन्सको नेतृत्व नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले गर्दैछन् । लुम्बिनीमा रोहितसँगै सन्दीप जोरा, दिनेश अधिकारी, अभिशेष गौतम, तिलक भण्डारी, सुमित महर्जन, दुर्गेश गुप्ता, दिलिप नाथ, शेर मल्ल, आदिल खान र विशाल पटेल रहेका छन् ।
लुम्बिनीले पाँच जना विदेशी खेलाडी अनुबन्ध गरेको छ । डार्शी सर्ट, थोमस ड्राका, गुल्बादिन नइब, रुबेन ट्रम्पम्यान र जेजे स्मिथ अनुबन्ध भएका छन् ।
लुम्बिनीले मुख्य प्रशिक्षका रूपमा टिनु योहान्नानलाई अनुबन्ध गरेको छ । यस्तै लुम्बिनीकै शक्ति गौचनलाई कन्सलट्यान्ट प्रशिक्षक र सहायक प्रशिक्षकमा सुवास खकुरेललाई नियुक्त गरेको छ ।
कर्णाली याक्स
कर्णाली याक्स धेरै सम्भावना भए पनि भौगोलिक विकटताले पछि परेको कर्णाली प्रदेशको नाममा बनेको टोली हो । कर्णाली याक्सको नेतृत्व राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामीले गर्दैछन् ।
सोमपालसँगै राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झा पनि टाेलीमा छन् । यस्तै नन्दन यादव, अर्जुन घर्ती, विपिन शर्मा, दीपेन्द्र रावत, युनिश सिंह ठकुरी, पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रे कर्णालीमा रहेका छन् । कर्णाली याक्सले ६ जना विदेशी खेलाडीका रूपमा वील बोसिस्टो, मार्क वाट, म्याक्स ओ डाउड, नाजिबुल्लाह जर्दन, प्रियन्क पञ्चल र जय किसन कोल्सावालालाई अनुबन्ध गरेकाे हाे ।
कर्णाली याक्सकाे प्रमुख प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल छन् ।
सुदूरपश्चिम रोयल्स
सुदूरपश्चिम प्रदेश नेपाली क्रिकेटमा सधैँ चर्चामा आउने प्रदेश हो । सुदूरपश्चिम सबैभन्दा धेरै क्रिकेट समर्थक भएका ठाउँले पनि चिनिन्छ । सुदूरपश्चिम राेल्यस सुदूरपश्चिम प्रदेशकाे नामबाट बनेकाे टाेली हाे ।
पहिलो संस्करणमा उपविजेता बनेको सुदूरपश्चिमको नेतृत्व टी–२० क्रिकेटका कीर्तिमानी क्रिकेटर दीपेन्द्रसिंह ऐरी रहेका छन् । दीपेन्द्रसँगै, विनोद भण्डारी, आरिफ शेख, ईशान पाण्डे, अविनाश बोहरा, नरेन साउद, हेमन्त धामी, दीपक बोहरा, मिलन बोहरा, दीपेन्द्र थापा र टेक रावत सुदूरपश्चिमको टोलीमा छन् ।
सुदूरपश्चिमले चार जना विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । अस्ट्रेलियाका क्रिस लिन, न्युजिल्यान्डका न्स्कट कुगेलेइन, जोस ब्राउन र हर्मित सिंह रहेका छन् ।
सुदूरपश्चिमकाे प्रशिक्षकका रूपमा जगत टमाटा रहेका छन् ।


