
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को शुरुआती चार महिनामा सरकारले २४ प्रतिशतभन्दा पनि कम बजेट खर्च गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार गएको कात्तिक मसान्तसम्ममा चार खर्ब ६८ अर्ब ८८ करोड ९४ लाख रुपैयाँ अर्थात् वार्षिक विनियोजनको २३ दशमलव ८७ प्रतिशत खर्च भएको हो ।
चालू आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ । कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा चालूगत शीर्षकमा वार्षिक विनियोजनको २७ दशमलव १८ प्रतिशत अर्थात् तीन खर्ब २० अर्ब ९९ करोड २२ लाख रुपैयाँ खर्च भएको छ ।
यस्तै पूँजीगत शीर्षकमा वार्षिक विनियोजनको ६ दशमलव २१ प्रतिशत अर्थात् २५ अर्ब ३१ करोड ३४ लाख र वित्तीय व्यवस्था शीर्षकमा ३२ दशमलव ६७ प्रतिशत अर्थात् एक खर्ब २२ अर्ब ५८ करोड ३८ लाख रुपैयाँ बराबर खर्च भएको छ ।
यही अवधिमा सरकारको राजस्व सङ्कलन वार्षिक लक्ष्यको २१ दशमलव ७२ प्रतिशत छ । यस वर्षका लागि सरकारले १५ खर्ब ३३ अर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखेकामा अहिलेसम्म तीन खर्ब ३३ अर्ब ३४ लाख रुपैयाँ असुली भएको हो ।
सरकारले कात्तिक महिनामा मात्रै एक खर्ब तीन अर्ब ७० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको थियो । तर कात्तिकमा ७८ अर्ब ३३ करोड रुपैयाँ राजस्व उठाएको हो । कात्तिक ३० गते मात्रै ३ अर्ब ६८ करोड रुपैयाँ राजस्व उठाएको सरकारले जनाएको छ ।


