
झापा । भारतको राजधानी दिल्लीमा गएको हप्ता भएको घातक कार बम विस्फोट गराएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
राष्ट्रिय अनुसन्धान एजेन्सीका अनुसार विस्फोटमा प्रयोग गरिएको कार पक्राउ परेका व्यक्तिकै नाममा दर्ता गरिएको बीबीसीले जनाएको छ ।
प्रहरीले उनलाई आत्मघाती हमलाकारीसँग मिलेर षड्यन्त्र रचेको आरोप लगाएको छ । पक्राउ परेका व्यक्ति भारत प्रशासित कश्मीरको बासिन्दा भएको खबरमा उल्लेख छ । विस्फोट दिल्लीको ऐतिहासिक लालकिल्ला नजिकैको मेट्रो स्टेशनको छेउमा भएको थियो, त्यहाँ दैनिक हजारौं मानिस आवत–जावत गर्छन् ।
विस्फोटमा कम्तीमा आठ जनाको ज्यान गएको थियो भने २० जना घाइते भएका थिए । दिल्ली प्रहरीले भारतीय प्रशासन अन्तर्गतको कश्मीरमा हालै पक्राउ परेका सात जनासँग सम्भावित सम्बन्धबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
१७औँ शताब्दीमा बनेको र आज पनि भारतका प्रधानमन्त्रीहरूले स्वतन्त्रता दिवसको दिन भाषण दिने लालकिल्ला दिल्लीको प्रमुख पर्यटकीय गन्तव्यमा पर्छ ।


