२०८२ कार्तिक २८, बिहिवार , ०२:५८:५० बजे

Sajhamanch
'

दिल्लीको कार विस्फोट आतङ्कवादी घटना : भारत सरकार

बिहिवार, कार्तिक २८, २०८२

झापा । भारत सरकारले राजधानी दिल्लीमा भएको कार विस्फोटलाई आतङ्कवादी घटना भनेको छ । लालकिल्ला नजिकै सोमवार बेलुकी भएको विस्फोटमा आठ जनाको ज्यान गएको थियो भने २० जना घाइते भएका छन् ।

बुधवार अबेर सकिएको सुरक्षा बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको निन्दा गर्दै यो देश विरोधी शक्तिहरूले गरेको कायरतापूर्ण कार्य भएको बताउनुभएको बीबीसीले जनाएको छ ।

विस्फोटको घटनाबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् । विस्फोटको सम्बन्धमा अधिकारीहरूले अहिलेसम्म कसैको नाम लिएका छैनन् र कोही पनि व्यक्ति पक्राउ परेका छैनन् ।

बुधवार मन्त्रिपरिषद्ले पारित गरेको सङ्कल्प प्रस्तावमा कार विस्फोटमार्फत् देश राष्ट्र विरोधी शक्तिहरूद्वारा रचिएको जघन्य आतङ्कवादी घटनाको साक्षी बनेको उल्लेख छ ।

निर्दोष मानिसहरूको ज्यान जाने गरी भएको घटना घृणित र कायर कार्य भन्दै भारत सरकारले निन्दा गरेको छ । भारत आतङ्कवादप्रति शून्य सहनशीलको नीतिप्रति दृढ प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

दिल्लीको सबैभन्दा चर्चित ऐतिहासिक तथा पर्यटकीय स्थलहरूमध्येको लालकिल्ला अगाडि रहेको मेट्रो स्टेशन नजिकै सोमवार बेलुकी रातो बत्तीमा रोकिएको कार विस्फोट भएको थियो ।

यसैबीच अमेरिकाले दिल्ली विस्फोटको अनुसन्धानका लागि भारतलाई सहयोग गर्ने बताएको छ । क्यानडामा चलिरहेको जी–सेभेन शक्ति राष्ट्रहरूको बैठकका क्रममा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय समकक्षी एस जयशङ्करलाई अनुसन्धानका लागि सहयोग गर्ने प्रस्ताव गर्नुभएको खबरमा उल्लेख छ ।

सम्बन्धित खबर