
दमक । दमक नगरपालिका वडा नं. ५ स्थित श्री दीपिनी आधारभूत विद्यालयमा कार्यरत शिक्षक देवी निरौला माथि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको अभियोग लागेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गेरर अध्यापन गराइरहेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।
निरौलाले भारतको बिहार संस्कृत शिक्षा बोर्ड, पटनाबाट जारी भएको मध्यमा तह (१० कक्षा)को परीक्षा उत्तीर्ण गरेको भनी नक्कली प्रमाणपत्र पेस गरी स्थायी नियुक्ति लिएको पाइएको अख्तियारको दाबी छ ।
उनले वि.सं. २०५५ सालमा अस्थायी शिक्षकका रूपमा नियुक्त लिइ २०७५ साल चैत २८ गते स्थायी नियुक्ति पाएको आरोपमा उल्लेख छ ।
अनुसन्धानबाट उनले झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा प्राथमिक तह तृतीय श्रेणीको शिक्षकका रूपमा दीर्घकालसम्म अध्यापन गर्दै तलब–भत्ता लगायतका सरकारी सुविधा लिएको प्रमाणित भएको आयोगको ठहर छ ।
निरौलाले गैरकानुनी रूपमा सेवामा सक्रिय भएर अनुचित लाभ लिएको ठहर गर्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१० बमोजिमको कसुर भएको निष्कर्ष निकालेको छ ।
निरौलामाथि कैद र जरिवानाको सजाय मागसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका हुन् ।


