
भारतको बिहार विधानसभा चुनावको दोस्रो र अन्तिम चरणको मतदान हिजो शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । बिहारका मुख्य निर्वाचन अधिकारी विनोद सिंह गुन्जियालका अनुसार, दोस्रो चरणमा ६८.७९ प्रतिशत मत खसेको छ । यो हेर्दा दुवै चरणको औसत मतदान ६६.९ प्रतिशत पुगेको बीबीसीले जनाएको छ । जुन अघिल्लो चुनावभन्दा झन्डै ६.९ प्रतिशत धेरै हो ।
विहार विधान सभामा यसपटक पुरुषको तुलनामा महिलाहरूले बढी सक्रियता देखाएका छन् । ७१.६ प्रतिशत महिलाले मतदान गरेका छन् भने ६२.८ प्रतिशत पुरुषले मत खसालेका छन् । कुल ७ करोड ४५ लाख रहेकोमा २ हजार १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । विहार निर्वाचन आयोगका अनुसार, मतदान पूर्ण रूपमा शान्तिपूर्ण र कुनै हिंसात्मक घटना भएन ।
हिजो मात्रै झन्डै ३ करोड ५२ लाख भारतीय रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरिएका थिए । मतगणना पर्सि नोभेम्बर १४ तारिखमा हुनेछ । प्रारम्भिक एग्जिट पोलहरूमा एनडीए गठबन्धन (बीजेपी–जेडीय) अगाडि देखिएको छ, तर अन्तिम नतिजा आएपछि मात्रै यसको पुष्टि हुनेछ ।एजेन्सी


