२०८२ कार्तिक २६, मङ्गलवार , ०३:१७:२१ बजे

Sajhamanch
'

अमेरिकामा महत्त्वपूर्ण कोष विधेयक पारित : ४१ दिनदेखिको ‘सटडाउन’ अन्त्यको अपेक्षा

मङ्गलवार, कार्तिक २६, २०८२

झापा । अमेरिकी सिनेटले महत्त्वपूर्ण कोष विधेयक पारित गरेको छ । विधेयक पारित भएसँगै केही दिनमै इतिहासको सबैभन्दा लामो सरकारी बन्द अन्त्य गर्न सक्ने अपेक्षा रहेको बीबीसीले जनाएको छ ।

हिजो अबेर ६०–४० मतले विधेयक पारित भयो । यो सम्झौताले आउँदो जनवरीको अन्त्यसम्म सरकारलाई कोष प्रदान गर्छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले विधेयकमा हस्ताक्षर गर्नु अघि अब प्रतिनिधि सभाले विधेयक पारित गर्नुपर्नेछ ।

केही डेमोक्रयाटहरू रिपब्लिकनसँग सामेल भएपछि र सङ्घीय कर्मचारीलाई काममा फिर्ता ल्याउन र आवश्यक सेवाहरू पुनः शुरु गर्न सम्झौतामा वार्ता गरेपछि यो सम्झौता सफल भएको खबरमा उल्लेख छ ।

गएको सेप्टेम्बर ३० तारिखमा आर्थिक वर्ष समाप्त भए पनि चालू आर्थिक वर्षका लागि नयाँ बजेटमा सहमति जुट्न नसक्दा अक्टोबर १ देखि अमेरिकामा ‘सटडाउन’ शुरु भएको थियो ।

रिपब्लिकन र डेमोक्रेट्सबीच बजेटका प्राथमिकता र स्वास्थ्य प्रावधानलाई लिएर मत–मतान्तर रहेको थियो । तर मतदानपछि ४१ दिनदेखिएको ‘सटडाउन’ अन्त्यको दिशातर्फ गएको छ । ‘सटडाउन’ हुँदा सङ्घीय सरकारका सबै कामकाज प्रभावित भएका छन् । हवाई यात्रामा समेत अवरोध आएको थियो ।