
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्नु भएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सुवेदीलाई मंगलबार पदमुक्त गर्नु भएको हो । मन्त्रिपरिषद् बैठकले सोमबार उहाँलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६५ को उपधार १ (ख) बमोजिम मधेश प्रमुख सुवेदीलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।
संविधानको धारा १६८को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत पाउने स्थिति देखेर कात्तिक २२ गते प्रदेश सभामा राजीनामा घोषणा गरेपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सबैभन्दा ठूलो दलको हैसियतमा एमाले दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि उहाँ विवादमा पर्नु भएको थियो।
स्वास्थ्य उपचारका लागि काठमाडौं जान्छु भनेर हिँडेकी प्रदेश प्रमुख सुवेदीले महोत्तरीको बर्दिबास नगरपालिका ३ स्थित पानस होटलमा सोमबार बिहान झिसमिसेमा एमाले नेता यादवलाई मुख्यमन्त्री पदको शपथ ग्रहण गराउनु भएको थियो।
त्यसपछि सोमबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले सुवेदीलाई पदबाट हटाउँदै उहाँको स्थानमा सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।


