
काठमाडौं । आगामीफागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि १५ दिनको प्रचारप्रसार अवधि तय गर्ने तयारी निर्वाचन आयोगले गरेको छ। आयोगले यसअन्तर्गत सम्पूर्ण कार्यतालिका तय गर्दै प्रारम्भिक तयारी अघि बढाएको जनाएको छ।
आयोगका अनुसार मतदाता नामावली संकलन र अद्यावधिक कार्य कात्तिक ३० गतेसम्म चल्नेछ। सोही मितिभित्र राजनीतिक दलहरूले दल दर्ता प्रमाणपत्र लिनुपर्नेछ।
मंसिर १ देखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता खुला गरिनेछ। यस अवधिमा दर्ता भएका दलहरूले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार खडा गर्न पाउनेछन्।
निर्वाचन कार्यक्रम स्वीकृत गरी नेपाल राजपत्रमा प्रकाशन गर्ने मिति मंसिर १० गते तोकिएको छ।
आयोगका अनुसार मतदाता नामावली अद्यावधिक कार्यक्रम मंसिर १ देखि पुस १५ गतेसम्म सञ्चालन हुनेछ।
त्यसैगरी, समानुपातिक प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालय मंसिर १५ गते स्थापना गरिनेछ।
मतदान स्थल तथा मतदान केन्द्र निर्धारण र राजपत्रमा प्रकाशन पुस १५ गते गरिनेछ भने समानुपातिक प्रणालीको बन्द सूची पेश गर्ने मिति पुस १८ र १९ गते तय गरिएको छ। आयोगले आवश्यक परे मितिमा हेरफेर गर्न सक्ने बताइएको छ।
निर्वाचन अधिकृतको कार्यालय माघ २ गते स्थापना गरिनेछ। साथै, संयुक्त निर्वाचन संचालन केन्द्र तथा प्रहरी संचार एकाइ पनि माघ २ गतेदेखि फागुन ३० गतेसम्म सञ्चालनमा रहनेछ।
निर्वाचन प्रचारप्रसार अवधि फागुन ४ देखि १८ गतेसम्म रहनेछ। यस अवधिमा दल र उम्मेदवारहरूले प्रचार गतिविधि सञ्चालन गर्न पाउनेछन्।
मतपत्र ढुवानी र वितरण फागुन १२ गतेभित्र सम्पन्न गरिनेछ। प्रचारप्रसार निषेध अवधि फागुन १८ गते राति १२ बजेदेखि सुरु हुनेछ।
निर्वाचनको मतदान फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने आयोगले जनाएको छ।


