
उदयपुर । उदयपुरमा विङ्गर दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्। आज बिहान ८ः३० बजे सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट-लहान सडकखण्डको त्रियुगा नगरपालिका-४, शान्तिचोकमा आज बिहान विङ्गर दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएको हो ।
सदरमुकाम गाईघाटबाट यात्रु लिएर लहानतर्फ जाँदै गरेको ना. १ ज. ८३९१ नम्बरको विङ्गर अनियन्त्रित भई सडक छेउको सिमेन्टको पर्खालमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
घाइते हुनेमा विङ्गरमा सवार त्रिनपा ११ संगमटोलका ७४ वर्षीय पूर्णबहादुर राई, उनकी बहिनी ६० वर्षीया रामकुमारी राई, त्रिनपा १२ का ४४ वर्षीय ज्ञानेन्द्र विक घाइते भएका छन्।
त्यसैगरी, ओखलढुङ्गागाको खिजिदेम्बा गाउँपालिका २ पोखरीका ४५ वर्षीय तिर्थ घिमिरे, काठमाडौंको गोकर्णेश्वर नपा २ का ४४ वर्षीय स्वयम्भूराज पोखरेल, त्रिनपा १२ सोनापुरकी १७ वर्षीया प्रजिता बिक घाइते छन्।
यात्रुहरू त्रिनपा ७ चुहाडेका २२ वर्यीय केवल ठकुरी, त्रिनपा २ का ७७ वर्षीय कमलबहादुर खडणका, सोही ठाउँका उमेर नखुलेका रामकुमार राउत र ५७ वर्षीय नरबहादुर खत्री पनि घाइते भएका छन्।
दुर्घटनालगत्तै घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा लगिएको थियो। घाइतेमध्ये ६ जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् भने बाँकी ६ जनाको उपचार भइरहेको छ।
अस्पतालमा उपचारपछि डिस्चार्ज हुनेहरूमा त्रियुगा–११ का ७४ वर्षीय पूर्णबहादुर राई, त्रियुगा–१२ की १७ वर्षीया प्रजिता विश्वकर्मा, ओखलढुंगाका ४५ वर्षीय तिर्थ घिमिरे, सप्तरी सुरुङ्गा–१ की २७ वर्षीया चन्द्रमाया चौधरी र उनकी ४ वर्षीया छोरी एरिना चौधरी तथा काठमाडौंका ४४ वर्षीय शम्भुराज पोखरेल रहेका छन्।
दुर्घटनामा घाइते भएका चालक सप्तरी हनुमाननगरका २६ वर्षीय उपेन्द्र साहसहित अन्य ६ जनाको उपचार जारी रहेको छ। अस्पतालका अनुसार केही घाइतेहरूलाई थप उपचारका लागि अर्को अस्पतालमा रेफर गरिएको छ भने बाँकीको जिल्ला अस्पतालमै उपचार भइरहेको छ।
उपचाररत अन्य घाइतेहरूमा त्रियुगा-११ की ६० वर्षीया रामकुमारी राई, त्रियुगा-१२ का ४४ वर्षीय ज्ञानेन्द्र विश्वकर्मा, त्रियुगा-७ का २२ वर्षीय केवल ठकुरी, त्रियुगा-२ का ७७ वर्षीय कमल बहादुर खड्का र सोही ठाउँका ५७ वर्षीय नर बहादुर खत्री रहेका छन्।
दुर्घटनाको कारणबारे खुल्न सकेको छैन भने प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


