
काठमाडौं । मधेशमा एमाले, संघीय समाजवादी र राप्रपाको संयुक्त सरकार गठन भएको छ ।
सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका एमाले दलका नेता सरोज कुमार यादवको नेतृत्वमा सानो आकारको मन्त्रिमण्डल गठन भएको हो ।
सरकारमा एमालेबाट लखन दास, संघीय समाजवादीबाट बिमला अन्सारी र राप्रपाबाट कन्चन बिच्छा मन्त्री नियुक्त हुनुभएको छ। संघीय समाजवादी र राप्रपाको मधेश प्रदेशमा एक–एक सिट छ ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका जितेन्द्र सोनलले यही कात्तिक २३ गते पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गर्नु भएको थियो।
स्वास्थ्य उपचारका लागि भन्दै काठमाडौं प्रस्थान गरेकी प्रदेश प्रमुख भण्डारीले एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरी बर्दिबासको पानस होटलमा शपथ खुवाएपछि उहाँको आलोचना भइरहेको छ ।


