२०८२ कार्तिक २४, आइतवार , ०३:००:३१ बजे

Sajhamanch
'

मोरङको रंगेलीमा देखियो लोपोन्मुख हाइनाको बथान

आइतवार, कार्तिक २४, २०८२

विराटनगर । मोरङको रंगेली नगरपालिकाको भारतीय सीमा क्षेत्रमा हाइनाको बथान देखिएको छ । वडा नम्बर ४ को धनपति क्षेत्रमा हाइना (हुँडार) देखिएको हो ।

विगत एक सातादेखि हाइनाको बथान देखिएपछि स्थानीय त्रसित छन् । ५ नम्बरका वडाध्यक्ष महानन्द मण्डलले हाइनाको बथान देखिएको बताउनु भयो । स्थानीयले एउटा-दुईटा हाइना देख्दै आएकोमा आज राति भने बथान नै देखिएको मण्डलले सुनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘भारततर्फ केही अगाडि हाइना देखिएको हल्ला चले पनि नेपालतर्फ देखिएको थिएन । बाँसघारी र खेतमा नै देखिएको छ ।’

कोशी टप्पु वन्य जन्तु आरक्षका संरक्षण अधिकृत भूपेन्द्र यादवले नेपालमा हाइनाका केही प्रजाति देखिने गरेको भए पनि मोरङमा कहाँ र कसरी आइपुग्यो भनेर अध्ययन गर्न बाँकी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘यो क्षेत्रमा हाइना देखिएको थिएन । कहाँबाट आयो भन्ने चाहिँ खोजीको विषय हो ।’

अमेरिकाको विस्कन्सिन म्याडिसन विश्वविद्यालयबाट बाघबारे अध्ययन गर्न आएकी सामन्था हेलेले दाङ र बाँकेको राप्ती नदीको किनारमा हाइना भेटिएको उल्लेख गरेकी थिइन् ।

सन् २०११ मा गरिएको अध्ययन अनुसार नेपालका २५ जिल्लामा हाइना पाइने देखाएको छ । तर, त्यसपछि कुनै अध्ययन नभएकाले हाल कुन(कुन जिल्लामा हाइना अवस्था कस्तो छ ? भन्ने अध्ययन हुन नसकेको प्रदेश पर्यटन वन मन्त्रालयले जनाएको छ । नेपालमा हाइना समुन्द्र सतहदेखि १७५० मिटरको उचाइमा रेकर्ड भएको छ । हाइना लोपोन्मुख जनावरको सूचीमा रहेको र एक सयको हाराहारीमा यो जनावर रहेको एक अध्ययनले देखाएको छ ।

झट्ट हेर्दा कुकुरजस्तो देखिने यो जनाबरको टाउको अग्लो र पुच्छरतिरको भाग क्रमशः होचो हुन्छ । यसलाई कुकुर र बिरालोका परिवारभन्दा बेग्लै ‘हाइनिडी’ परिवारमा राखिएको छ । यसका अगाडिका खुट्टा पछाडिका तुलनामा अग्ला र बलिया हुन्छन् । मांसाहारी यो जनाएर समूहमा बस्ने र धेरै बुद्धिमान मानिन्छन् । हाइनाले सामूहिक सिकार गर्छन् ।

सम्बन्धित खबर