२०८२ कार्तिक २२, शुक्रवार , १२:२५:१५ बजे

Sajhamanch
'

शान्ति मिसनमा नेपाली सेनाको ६७ वर्ष, हालसम्म ८७ शान्ति सैनिकको मृत्यु

शुक्रवार, कार्तिक २२, २०८२

काठमाडौं । नेपाली सेनाले संयुक्त राष्ट्र संघको ८०औं स्थापना दिवस ‘युएन डे’ मनाएको छ। श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो। नेपालले संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९५८ देखि शान्ति सैनिकहरू खटाउँदै आएको छ।

हाल नेपाल शान्ति सैनिक पठाउने देशहरूमध्ये पहिलो स्थानमा रहेको छ। महिला सैनिक पठाउने राष्ट्रको सूचीमा पनि अग्रस्थानमा छ।

हाल संयुक्त राष्ट्र संघीय मिसनअन्तर्गत विश्वका १० वटा विभिन्न मिसनमा नेपाली सेनाका ५ हजार ८१९ जना शान्ति सैनिक कार्यरत छन्। विश्व शान्ति स्थापनाको क्रममा हालसम्म ७४ जना नेपाली सैनिक र ११ जना नेपाल प्रहरी र २ जना सशस्त्र प्रहरी बलले वीरगति प्राप्त गरेका छन्। सैनिकतर्फ ७५ जना घाइते र प्रहरी तर्फ ६ जना घाइते भएका छन्।

विगत ६७ वर्षको इतिहासमा १ लाख ७८ हजार नेपाली सैनिक तथा प्रहरी शान्ति मिसनमा सहभागी भएका छन्। युद्धग्रस्त विभिन्न ४१ देशका ५२ वटा शान्ति मिसनमा सहभागी भएर सफलतापुर्वक जिम्मेवारी निभाएका छन्।

हाल विभिन्न १३ वटा मिसनमा ६ हजार ४० जना शान्ति सैनिक तथा प्रहरीहरू कार्यरत छन्। शान्ति सेनामा हाल कार्यरत भएका महिलाको संख्या ५८० रहेको छ।

हाल नेपाली सेनाका विभिन्न प्रकारका १६ वटा युनिटहरु संयुक्त राष्टसंघीय मिसनहरूमा तैनाथ रहि विश्व शान्ति स्थापनाको लागी कार्यरत छन्। नेपाली सेनाले संयुक्त राष्ट्र संघले अनुरोध गरेको खण्डमा एकैपटक १० हजार शान्ति सैनिक खटाउन सक्ने तयारी गरेको छ।

शान्ति मिसनमा खटिएको नेपाली सेनाले मिसनमा गई सौर्य हाइव्रिड प्लान्टहरु जडान गरी लैंगिक समानता र वातावरण रणनीतिजस्ता संयुक्त राष्ट्रसंघको पहलहरूमा समेत अग्रस्थानमा रहि योगदान गरिरहेको छ।

नेपाली सेनाका अनुसार शान्ति मिसनमा सहभागी नेपाली सेनाले द्वन्द्व समाधान, संकट व्यवस्थापन, मानवीय सहायता, शान्ति निर्माण सम्बन्धमा अमूल्य सिप र ज्ञान प्राप्त गर्छन्। यसले गर्दा देशको आन्तरिक सुरक्षा, विपद् व्यवस्थापन लगायतका आकस्मिक कार्यमा खटिन सहयोग मिलेको छ।

सम्बन्धित खबर