२०८२ कार्तिक २१, बिहिवार , ०४:१४:५२ बजे

Sajhamanch
'

विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने

बिहिवार, कार्तिक २१, २०८२

काठमाडौं । विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको अधिकार दिन चार वटा कानूनमा संशोधन गर्नुपर्ने देखिएको छ । निर्वाचन आयोगले सरकारलाई राय पठाउँदै चार वटा कानूनमा संशोधन गर्नुपर्ने देखिएको जानकारी गराएको हो ।

कानूनी व्यवस्थाका लागि गृह मन्त्रालयले राय मागेपछि आयोगले हिजो पठाएको हो । विद्यमान कानूनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको विषयलाई सम्बोधन नगर्ने भएकाले त्यसका लागि कुन–कुन कानूनमा के–के संशोधन गर्न आवश्यक छ, त्यसबारे अध्ययन र छलफलपछि सुझाव पठाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो ।

आयोगका अनुसार निर्वाचन आयोग ऐन, मतदाता नामावली ऐन, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन र निर्वाचन (कसुर तथा सजाय) ऐनमा संशोधन गरिनुपर्ने जानकारी मन्त्रालयलाई दिइएको छ ।

विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको अधिकार दिन सरकारले अध्यादेशमार्फत कानून संशोधनको तयारी गरिरहेको छ । अहिले विदेशमा रहेका मतदातालाई समानुपातिक निर्वाचन प्रणालीतर्फ कसरी सहभागी गराउने भन्नेबारेमा छलफल भइरहेको हो ।

फागुन २१ गतेका लागि तोकिएको चुनाव आउन ११९ दिन मात्रै बाँकी भए पनि सरकारले विदेशमा रहेका नागरिकलाई मतदानको अधिकार दिने वा नदिने भन्ने निर्णय गर्न सकेको छैन ।