
काठमाडौं । सरकार लक्ष्य अनुसार राजस्व उठाउन असफल बन्दै गएको छ । अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले २ खर्ब ४९ अर्ब रुपैयाँमात्रै राजस्व उठाएको छ ।
यो अवधि अर्थात् असोज मसान्तसम्ममा सरकारले ३ खर्ब २१ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । असोज मसान्तसम्ममा राजस्वका कुनै पनि शीर्षकमा उत्साहजक रूपमा राजस्व सङ्कलन नभएको स्वयम् अर्थ मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।
मन्त्रालयका अनुसार असोज मसान्तसम्ममा भन्सार महसुल ७० अर्बभन्दा धेरै उठाउने सरकारले लक्ष्य राखेकोमा ५६ अर्ब ८५ करोड रुपैयाँमात्रै सङ्कलन भएको छ । यस्तै असोज मसान्तसम्म मूल्य अभिवृद्धि कर (भ्याट) ९४ अर्ब ११ करोडको लक्ष्य रहेकोमा ८१ अर्ब २३ करोड रुपैयाँमात्रै राजस्व उठेको छ ।
पहिलो त्रैमासमा राजस्वका लक्ष्य नभेट्नुले आउँदा दिनमा सरकारलाई चालू खर्च धान्नसमेत राजस्वले नपुग्ने स्थिति आउनसक्ने खतरा देखिएको छ । अहिले दैनिक सरकारको चालू खर्च झन्डै ३ खर्ब बराबरको छ तर आम्दानी भने दैनिक २ खर्ब ८० अर्ब रुपैयाँको मात्रै रहेको महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कले देखाउँछ ।


