२०८२ कार्तिक २०, बुधवार , ०४:०९:३७ बजे

Sajhamanch
'

कोशी प्रदेश सभा सञ्चालनका लागि एक करोड रुपैयाँ लाग्ने, कृषि थोक बजारमा हुँदैछ तयारी

बुधवार, कार्तिक २०, २०८२

विराटनगर । भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा ध्वस्त भएको कोशी प्रदेश सभा मोरङको कटहरी गाउँपालिका–१ स्थित फलफूल तथा तरकारी थोक बजार केन्द्रको भवनमा सार्ने तयारी तीव्र पारिएको छ ।

१५ दिन भित्रमा प्रदेश सभा भवन, सचिवालय र अन्य आवश्यक कार्यालय स्थापना गर्ने गरिको तयारी भएको कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले बताउनु भयो । उहाँले प्रदेश सभा सञ्चालनका लागि १ करोड रुपैयाँ लाग्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘सबै तिर हेर्दा थोक बजारको भवन उपयुक्त देखिएको छ । यसलाई नै प्रयोग गर्ने गरिको तयारी भएको छ ।’

उहाँले मङ्सिरको १५ गते सम्ममा प्रदेश सभा सुरु गर्नका लागि आवश्यक संरचना तयार गरिसक्ने बताउनु भयो । यसका लागि काम सुरु भएको विष्टले बताउनु भयो ।मङ्सिरको दोस्रो साता सम्ममा आवश्यक संरचना बनाइसकेपछि प्रदेश सभा बैठक डाक्न सकिने सभामुख विष्टले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकार त तत्काल प्रदेश सभा राख्न चाहान्छ । तर हामीले व्यवस्थापनको काम पनि सक्नु पर्ने छ ।’

आन्दोलनका क्रममा कोशी प्रदेशको प्रदेशसभा सचिवालय र सभा हल आगजनीका कारण ध्वस्त भएपछि कोशी प्रदेश सरकारले कटहरी गाउँपालिका समेतको सहमतिमा उक्त भवन संरचनामा प्रदेश सभा सार्ने निर्णय गर्दैछ । प्रदेशसभा सचिवालय सर्ने निश्चित भएपछि कर्मचारीहरूले फलफूल तथा तरकारी थोक बजारको भवन परिसरमा सरसफाइ सुरु गरेका छन् ।

यहाँ रहेको एउटा भवनमा सचिवालय राखिने र एउटामा सभा हल निर्माण गरिने कोशी प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालले जानकारी दिनुभयो । प्रदेश सभा सञ्चालनका लागि कटहरी गाउँपालिकाको स्वामित्वमा रहेर संरक्षण गर्दै आएको कृषि थोक बजारभित्रका संरचना प्रदेश सरकारलाई जिम्मा दिइएको कटहरी गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित खबर